दाङ २८ साउन/ लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्म अनुसार निजामति कर्मचारी सम्बन्धि ऐन बनाउन लागिएको बताएका छन् । उनले प्रदेशलाई बलियो बनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेश सभाले सदैव सचेत रहेको बताए । उनले संघीयताको मर्म अनुसार लुम्विनी प्रदेशवासीलाई हित हुने गरि कानुन वनाउनेमा सभा प्रतिवद्ध रहेको पनि बताए ।
प्रदेश निजामति सेवाको गठन, संचालन र सेवा शर्त सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकमाथी प्रदेश मामिला तथा कानुन उपसमितिले आईतबार देउखुरीमा आयोजना गरेको विज्ञ तथा सरोकारवाला बीच गरिएको छलफल कार्यक्रममा सभामुख घर्ती मगरले प्रदेशमा दक्ष जनशक्ति तयार नहुँदा सम्म संघको कर्मचारी आवश्यक पर्ने तर प्राथमिकता प्रदेशवासीलाई नै दिईने गरी ऐन बनाउने बताए ।
राष्ट्सेवक कर्मचारीहरुलाई जवाफदेही बनाउन र उहाँहरुको वृत्ति विकासमा समेत ध्यान दिएर ऐन बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले नयाँ पुस्ताको लागि प्रदेशलाई आवश्यक पर्ने जनशक्तिको सही परिचालन गर्ने गरी ऐन बनाउनु पर्छ भन्नेमा सबै माननीयहरु सचेत रहेको पनि सभामुख घर्ती मगरले बताए । उनले विज्ञ तथा सरोकारवालाहरुले दिएको सुझाबको आधारमा कर्मचारीको ऐन बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गृहमन्त्री सन्तोष कुमार पाण्डेले समितिले निकै मेहनत गरी मस्यौदालाई अन्तिम रुप दिन लागेको बताउनुहुदै ऐनमा सबै प्रकारका कर्मचारीहरुलाई सम्वोधन गर्ने बताए । उपसमितिका संयोजक भोज प्रसाद श्रेष्ठले विधेयकको वारेमा जनस्तर सम्मबाट सुझावको अपेक्षा गरिएको बताए । प्राविधिकरुपमा समेत विज्ञहरुसंग छलफल गरिएको बताउदै उनले यो विधेयक ऐनको रुपमा आउदा सबै कर्मचारीको भावना समेटिने बताए । समितिका सदस्य निमा गिरीले ७ दिन सम्म विधेयकको विषयमा गहन छलफल गरिएको र यसलाई अन्तिम रुप दिन लागिएको जानकारी दिए । छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाहरुले जसको लागि ऐन बनाईदै छ त्यसले अनुभूत हुने गरी ऐन बनाउन प्रदेश सभा सदस्यहरुलाई सुझाव दिए ।
