दाङ,पुस ९ । गिरिजाप्रसाद कोइरालासँग आन्तरिक ‘शक्ति संघर्ष’ मा जुधेका शेरबहादुर देउवाको कोइरालाका अगाडि ‘दम’ चलेन । कोइरालाको ‘थिचोमिचोमा’ परेको महसुस गरेका देउवालाई कोइरालाको शक्तिलाई कमजोर पार्ने एक मात्रै ‘ईख’ थियो । फलतः २०५९ मा ‘नेपाली कांग्रेस (प्रजातान्त्रीक)’ बनेर कांग्रेसमा रहेको कोइराला शक्तिलाई भत्काउने रणनीति बनाए देउवाले। झण्डै ५ बर्ष प्रजातान्त्रीक कांग्रेसको सभापति बनेर फरक दलको बिरासत धानेका देउवालाई पुनः कांग्रेस प्रेमले जीति छोड्यो। ०६४ मा ४० प्रतिशत बोकेर पुनः कांग्रेसमा समाहित भए।
नेतृत्वमा रहेको कोइराला समूहसंग ४० प्रतिशतको माग गर्दै पार्टीमा आफ्नो प्रतिनिधित्व खोज्न थालेका देउवाले नै कांग्रेसमा ६०/४० भागवण्डाको नयाँ संस्कृति बसाले पनि। ४० भागका लागि लड्न थालेका देउवा १२ औँ महाधिवेशनमा ६० को हकदार बन्न चाहन्थे। तर, सुशील कोइरालाले उनलाई पुनः ४० प्रतिसतको ‘सोँच’ भन्दा माथि उठ्न दिएनन्। यो महाधिवेशनमा सभापतिमा देउवा कोइरालासँग पराजित बने।
तर, १३ औँ महाधिवेशनमा देउवा ६० को हकदार बने। रामचन्द्र पौडेललाई सभापतिमा पराजित गरेपछि सँधै संस्थापन इतर बन्दै आएका देउवाले संस्थापन पक्षको बागडोर सम्हाले। तथापी उनको यो बेलाको कार्यकाल ‘असन्तुष्टि’ हरुले घेरियो। अँझ स्थानीयदेखि प्रतिनिधिसभा/प्रदेशसभामा गुमेको जनमतको मुख्य कारक नै देउवा बने। संगठन मजवुत बनाउनका लागि भूमिकै खेल्न नसकेको भन्दै कार्यकर्ता पंक्तिबाट उठ्ने असन्तुष्टिले देउवालाई असक्षम सभापतिका रुपमा दर्ज गरिसकेको थियो। यहाँसम्मकी फेरि पनि देउवा सभापति बने कांग्रेस पुरै ‘ध्वस्त’ हुने खतराका ‘लख’ कति काटिए कति।
तथापी उनै देउवालाई कांग्रेसको आन्तरिक जनमतले फेरि सभापतिकै सिंहासनमा बिराजमान गराइदिएको छ। त्यो पनि पहिलेको भन्दा झन बढि शक्तिशाली सभापतिका रुपमा कांग्रेसको ‘श्रीपेच’ पहिरिएर देउवालाई राज गर्ने अवसर कांग्रेसको आन्तरिक जनमतले जुराइदिएको छ।
अतः कार्यकर्ताहरुलले भनेजस्तै पहिलो कार्यकालमा ‘मत्ताएका’ देउवालाई यो महाधिवेशनले पनि ‘मत्ताउने’ गरी पर्याप्त मत दिएको छ। कुल १ सय ३४ सदस्यीय रहेको कांग्रेसको केन्द्रीय समितिमा देउवाका मात्रै १ सय १० ‘महारथी’ हरु भित्रिएका छन्। फलतः एकल रूपमा अघि बढ्न इच्छा राख्ने देउवाका लागि अहिले झन एकलवाटो तय गर्न झनै सजिलो छ ।
पहिलो कार्यकालमा चरम असन्तुष्टिका पात्र देउवा कसरी झनै शक्तिशाली बने ? बाहिरी रुपमा आलोचना सुनिए पनि उनको विरासत कांग्रेस भित्र बलियो भएको तथ्यलाई त उनले केन्द्रीय समितिमा राखेको पकडले गलत भन्न दिँदैन। भलै सत्ताको बागडोर सम्हालेका कारण ‘सत्ता-शक्ति’ ले यस्ता चुनावहरूमा राम्रो प्रभाव पार्ने चर्चा प्रधानमन्त्रीसमेत रहेका देउवाको जीतलाई जोडेर गर्ने गरिएको पनि छ।
पार्टीलाई आगामी तीनवटै तहका चुनाव जिताउने प्रणसहित कार्यकर्तासँग भोट मागेका देउवा शक्तिशाली बनेका छन्। अब उनले कस्तो रणनीतिका साथ त्यो ‘प्रण’ पुरा गर्लान् भन्ने कुरा प्रक्षिाको विषय बनेको छ। तर, केन्द्रीय समितिमा रहेको दुई तिहाई भन्दा बढि मतको ‘धङधङी’ मा देउवाले दुई तिहाई बाहेकको मतलाई अवमूल्यन गरेको खण्डमा देउवा केबल उनको पुरानो चिन्तन मात्रै सफल हुने छन्,अर्थात उनि कांग्रेस भित्रको ६० प्रतिशतका मालिक मात्रै हुनेछन्। उनले बहिस्कार गरेको अर्को ४० प्रतिसतको पंक्तिले देउवालाई उसैगरि सराप्ने छ ‘देउवाका कारण कांग्रेस ध्वस्त भयो’ भनेर । अतः पहिलो ‘असफलता’ को आलोचनालाई यो असन्तुष्टिले पनि ठूलो मलजल गर्ने छ।
यसर्थ कांग्रेसका ‘बाहुबली’ बनेका देउवाले आफूसंगै आफू इतरका नेता कार्यकर्तालाई पनि ‘आफ्नै’ भन्ने सामथ्र्य राख्नु पर्छ नै। अन्यथा आफ्नो बिरासत् मात्रै कायम राख्नका लागि आफू पक्षीय दुई तिहाईलाई मात्रै च्यापेर हिँडे कांग्रेस सैद्धान्तिक रुपमा कमजोर बन्दै जाने छ । भलै देउवाले आगामी चुनाव पछि बन्ने ५ बर्षे सरकारको नेतृत्व गरिरहलान्।
