रुपन्देही ।लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामाले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरी यसको विकासका लागि योजना बनाएका छन् । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन् ।
संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत रहेका डा. लामाले प्राचीन शाक्यहरुको राजधानी कपिलवस्तु निकै महत्वपूर्णस्थल रहेकाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए ।
उपाध्यक्ष डा.लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए । ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदै छु’ उपाध्यक्ष लामाले भने –‘स्थानीय, अगुवाहरु, पत्रकारहरुको सुझावका आधारमा बुद्धजन्मस्थल सहितका क्षेत्रहरुको विकास गर्नेछु ।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी समालेको बताए ।
उपाध्यक्ष डा. लामासहितको समूहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटिहवा, सगरहवा, निलिहवा, अरुणकोट, सिसनिया र जगदीशपुरता लगायत स्थानहरूको अवलोकन तथा निरीक्षण गरेको छ । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचीन कपिलवस्तु, तिलौराकोट दरबार र कपिलवस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए ।
निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । यसअघि बिहीबार उपाध्यक्ष डा।लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए ।
यस्तै बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोकस्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्यटकमैत्री बनाउने र तत्काल मायादेवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्ने समेत उपाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् । यसअघि उपाध्यक्ष लामाले कर्मचारीहरुसँग बसेर कार्ययोजना बनाइसकेका छन् ।
