काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाप्रति कठोर र चीनप्रति सद्भावपूर्ण भाषामा प्रस्तुत भएका छन्। पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेशनमा उनले अमेरिका प्रति कडा टिप्पणी गरेका हुन्। प्रतिवेदनमा प्रचण्डले अमेरिका आफू मात्रै नभई साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको विश्लेषण गरेका छन्।
हिन्द प्रशान्त (इन्डो प्यासेफिक) क्षेत्रमा चीनलाई रोक्न अमेरिकाले बेलायत र अस्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशका सैन्य अड्डा थप्ने र सुदृढ गर्ने योजना बनाएको दाहालको दस्ताबेजमा उल्लेख छ। ‘हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिअनुसार उसले हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिएको छ, यसले ऊ थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ,’ दस्ताबेजमा लेखिएको छ, ‘बाइडेन शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्रबीचको लडाइँको रूपमा व्याख्या गरेको छ । खासमा उसले शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा चर्काएर लान खोजेको छ,’ दस्ताबेजमा छ।
यस्तै, बहुचर्चित एमसीसी सम्झौताबारे पनि दाहालले पार्टी दस्ताबेजमा संक्षिप्त चर्चा गरेका छन्। उनले सम्झौता परिमार्जनपछि अघि बढाउने पुरानै मान्यता दोहोर्याउँदै उनले भनेका छन्। ‘एमसीसीको परियोजनालाई आवश्यक परिमार्जन, संशोधन र राष्ट्रिय सहमति बनाएरमात्र अगाडि बढाउने नीति लिनुपर्छ,’ दाहालले भनेका छन्।
