तेस्रो आँखा डेस्क
दाङ,पुस १३ । कांग्रेस रोल्पाका उपसभापति, सचिव र सहसचिवलाई लक्षित गर्दै एक घरमा आगजनी गरिएको छ । घटना गएरातीको हो । भलै यी नेता त्रय भने उक्त घरमा नभई अर्को घरमा सुतेका थिए । उनिहरुको मोटसाईकल भने जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
यसो भन्छन् कांग्रेस रोल्पा जिल्ला सचिव शेरबहादुर थापा
रोल्पाको गंगादेव गाउँपालिकाका निवर्तमान उपसभापतिको शोकसभा कार्यक्रम आयोजना गरिएको थियो । मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन उपसभापति हरि पुन , म र सहसचिव सुनिल कुमार ओली पाखापानी भन्ने गाउँ तर्फ लाग्यौँ । सोमबार साँझ कांग्रेसका एक कृयासिल सदस्यको घरमा पुग्यौँ । उहाँको श्रीमती क्यान्सर पीडित भएकाले स्वास्थ्य अवस्था बारे बुझ्न साथै भेटघाटका लागि हामी त्यहाँ पुगेका थियौँ ।
साँझ त्यहिँ बास बसेर मंगलवारको कार्यक्रममा सहभागी हुने भन्ने हाम्रो निर्णय भयो ।
हामी खाना खाएर सुत्न गयौँ । त्यो बेला राती १० बजिसकेको थियो । हामी सुत्न गएको १५ मिनट पछि हामीले खाना खाएको भान्सा घरमा आगो दन्कीयो । हामी थाहा पाएर उठ्यौँ । सुरुमा मोटरसाईकलमा आगो लगाईएछ ।
रा ५ प ९५२१ नम्बरको पल्सर मोटरसाईकल सहसचिव सुनिल कुमार ओलीको हो । मोटरसाईकल भान्सा घरको छेवैमा राखिएको थियो । मोटरसाईकलमा लागेको आगो घरमा सल्किन थलेछ । घर नजिकै पानीको ट्यांकी थियो । उक्त ट्यांकीको पानीको सहायतामा घरमा आगो लाग्न पाएन । हामीहरुले तत्कालै प्रहरीलाई खबर गर्यौँ, प्रहरी एक घण्टा पछि आयो । तर आगो लगाउनेहरु को हुन् भन्ने अहिले सम्म एकिन नभएको र पहिचानको प्रयास भैरहेको प्रहरीले बताएको छ ।
हामीहरुलाई पनि कसले आगो लगाएको हुन सक्ला ? भन्ने एकिन हुन सकेको छैन । तर हामीहरुलाई नै लक्षित गरेर आगजनी गरिनु कांग्रेस बिरोधी समुहको हर्कत हो भन्नेमा त कुनै पनि शंका छैन ।
