कमिरेचौर, २८ असोज । दाङको बंगलाचुली गाउँपालिका वडा ४ मा वडाअध्यक्ष डाँस बहादुर डाँगी तथा वडा सदस्यहरुको अगुवाईमा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान अनुसार श्रमदान कार्यको थालनी भएको छ । श्रमदानको सुरुवात गरेपछि हरेक घर–घरबाट नागरिक कुटो कोदालो बोकेर बाटो मर्मत गर्न श्रमदानमा जुटेका छन् ।
यसै अभियान अन्तर्गत सोमबार दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर चारको रातोपोखरादेखि भर्तेघाटसम्मको बाटोलाई जनश्रमदानबाट मर्मत गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ४ स्थित धामिचौर, तल्लोकाभ्रे, पन्थटोल, ठाँटिगैर, हुँक्ला, लोतपोखरी, मैकुटी, रुमाले, बागी टोलका झण्डै १ सय २५ जना स्थानीयको सहभागितामा सो बाटोको मर्मत गरिएको हो ।
स्थानीयको जनश्रमदानबाट झण्डै दुई किलोमिटर पैदल बाटो निर्माण गरिएको वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिए । सो अवसरमा वडाअध्यक्ष डाँस बहादुर डाँगी, कार्यपालिका सदस्य नारायणी गिरी, वडा सदस्यहरु दिपक परियार, बोधे दमाई,मिना परियार लगायत स्थानीय अगुवा तथा नागरिकहरुको सहभागिता रहेको थियो ।
