तेस्रो आँखा डेस्क
दाङ,पुस १५ । घोराही उपमहानगरपालिकाको पछिल्ला कृयाकलाप प्रति नेपाली कांग्रेस घोराही नगर समितिले आपत्ति जनाएको छ । उपमहानगरका नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गरेको प्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस घोराही नगर समितिले सबै नगरसभा सदस्यहरुको सुझावलाई मनन गरेर अगाडी बढ्न उपमहानगरलाई आग्रह गरेको छ । कांग्रेस घोराही नगरसभापति तिलक रावतले बिज्ञप्ती जारी गर्दै नगरसभा सदस्यहरुलाई छलेर नगरसभा सम्पन्न गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
‘आवश्यक बिषय वस्तुहरु माथि छलफल नगरि नवरजस्त ढंगले नगरसभा सम्पन्न गर्न खोज्ने र संसदीय व्यवस्था माथिनै गम्भिर प्रहार गर्न खोजिएको प्रति कांगेस घोराही नगरसमितिको गम्भिर ध्यानाकर्षण भएको छ,’ नगरसभापति रावतले बिज्ञप्तीमा उल्लेख गरेका छन् । यसैगरि कांग्रेस घोराही नगर समितिले पुनः नगरसभा आह्वान गर्न समेत आग्रह गरेको छ ।
‘पुनः नगरसभा आह्वान गरेर छलफलको माध्यमबाट पारदर्शिता, स्वच्छता र बिभेद मुक्त नगर निर्माणका लागि बिधि सम्मत तवरबाट नगरसभा सञ्चालनका लागि अनुरोध गर्दछौँ,’ नगरसभापति रावतले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
११ गते नगरसभाका केहि कार्यसुची हटाएर उपमहानगरले नगरसभा सञ्चालन गर्न खोजेपछि नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गरेका थिए ।
