काठमाडौं, १८ पुस । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सहमतिमा नै केन्द्रीय कमिटीको घोषणा हुने भन्दै बन्दसत्र नै आज १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए।
अध्यक्ष प्रचण्डको प्रस्ताव हलले अनुमोदन गरेपछि शनिबारका लागि भनिएका सबै निर्वाचनका कार्यक्रम स्थगित भएका छन्। आज पुनः संशोधिक निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। आइतबार दिउसो १ बजेबाट सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय कमिटी बन्न नसक्ने अवस्था आएमात्र माओवादी केन्द्रले दिउसो २ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाउने तयरी गरेको छ।
नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको हो। केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन्। केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ।
आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने माओवादी केन्द्रको तयररी छ ।
नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ। त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ।
