• ट्रेण्डिङ्ग :
आयुर्वेद स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा

आयुर्वेद स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा


  • 3.4K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    आयुर्वेद स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा

    नेपालगन्ज । आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका –१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । 

    images

    कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन भएको सो निःशुल्क स्वास्थ्य शिविरमा ६५१ जना विभिन्न रोगका बिरामीले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख उदिप श्रेष्ठले बताउनुभयो । 

    उहाँले ओपीडी सेवा लिने विरामीको संख्या सबैभन्दा धेरै रहेको जनाउँदै ४०१ जनाले ओपीडी सेवा लिएको बताउनुभयो । त्यसमा महिलाको संख्या २६२ र पुरुषको संख्या १३९ रहेको थियो । 

    प्रमुख श्रेष्ठका अनुसार त्यसैगरी उपचारात्मक योग सेवा ४० जनाले लिएका छन् भने ७३ जनाको सुगर परीक्षण गरिएको छ । यस्तै पञ्चकर्म सेवा ५६ जनाले, जेष्ठ नागरिक सेवा ६२ जनाले र स्तनपायी (प्रसूति महिलालाई दुग्धवर्धक औषधि वितरण) सेवा १९ जनाले लिएको पनि केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।

    आयुर्वेदिक चिकित्सक डा. विपी रेग्मी, डा. गीता रेग्मीसहितको स्वास्थ्यकर्मीको टिमले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । कोहलपुर –१२ र १३ लाई लक्षितगरी आयोजना गरिएको सो शिविरको कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विकले उद्घाटन गर्नुभएको थियो । 

    कोहलपुर नगरपालिका १२ का वडा सदस्य पानसरा बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा १३ का वडाअध्यक्ष डम्वर खड्का, अन्य जनप्रतिनिधि, बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

    आयुर्वेद औषधिको कुनै पनि साइड इफेक्ट नभएको र यसले रोगलाई जरैबाट निर्मुल पार्ने भएकाले बढीभन्दा बढीलाई यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख श्रेष्ठले बताउनुभयो । 


    तेस्रो आँखा