तेस्रो आँखा डेस्क
दाङ,पुस १८ । आईतबार घोराही देखि लमही जाँदै गरेको रा १ ख ११८५ नम्बरको ‘लोकल बस’ खचाखच जस्तै थियो । अगाडी सिटमा बसेकी एक युवती बस चढ्दा लमही जानु पर्ने भनिन् । उनलाई घोराही देखि झण्डै ५ किलोमिटरको दुरीमा पर्ने गोग्लीमा झर्नु पर्ने भन्दै कसैको फोन आयो । गोग्ली पुगेपछि उनले चालकलाई गाडी रोकिदिन भनिन् । चालकले असन्तुष्टि राख्दै भने ‘किन लमही भनेर ढाँटेको ?’ ति युवतीले ‘गोग्लीमै झर्न’ भन्दै फोन आएको बाध्यता सुनाईन् ।
बसबाट ओर्लदै बसका कन्डक्टरलाई उनले भाडा सोधिन् ‘भाडा कति रुपैयाँ हो ।’ कन्डक्टरले ५० रुपैयाँ मागे । यात्रु युवतीले असहमती राखिन् । जबकी घोराही देखि गोग्ली सम्म चल्तीको भाडा भनेको १५ रुपैयाँ मात्रै हो । तर लमही भनेर सिटमा किन बसेको भन्दै जरिवाना लिन थाले । ति युवतीले गोग्ली सम्मको भाडा ५० रुपैयाँ तिरिन् ।
किन महंगो भाडा लिएको ? ति युवतीबाट महंगो भाडा असुलेपछि तेस्रो आँखाले गरेको प्रश्नमा बसका कन्डक्टर एकछिन नाजवाफ बने । समितिको नियम हो ? बल्ल ति कन्डक्टरले मुख खोले ‘हामीलाई लमही भनेर किन ढाँट्ने ? गोग्ली भनेको भए त उभिएर आउँथे नि, सिटमा किन बस्दिने ?’
देउखुरीमा रहेको रोयल देउखुरी बस तथा ट्याक्सी समिति मार्फत सञ्चालित उक्त बसले उसैगरि अन्य यात्रुहरुसंग भाडा असुल्दो रहेछ । बसका ति कन्डक्टरले भने ‘ढाँटेर सिटमा बस्नेहरुलाई पुरै भाडा नलिए त हामीलाई घाटा लागि हाल्छ नि ।’
बसका कण्डक्टर एकाएक चालक देखि रिसाए । ‘कहाँका प्यासेन्जर राख्नु भएको हो ?’ लमही भनेरै सिटमा बसेका केही यात्रुहरु लमही घोराहीको सीमा क्षेत्र नजिकै मसोट भन्ने स्थान सम्म पुग्नेहरु पनि रहेछन् । मसोट सम्मको भाडा कन्डक्टरले एक ब्यक्तिसंग उसैगरि लमही सम्मको पुरै भाडा ७० रुपैयाँ मागे । तर ति ब्यक्तिले लमही सम्मकै पुरै भाडा दिन मानेनन् । मसोट सम्मको भाडा ५० रुपैयाँ दिँदै भने ‘हामीलाई पनि थाहा छ नियम कानुन् ।’
तर कन्डक्टरले सिटमा किन बसेको भनेर ति ब्यक्तिसंग निहुँ खोज्दै थिए । तर ति ब्यक्तिले भाडा वापतको थप रुपैयाँ दिन नमानेपछि कन्डक्टर चालक संग रिसाए ।
‘कसरी पुरै भाडा माग्नु ?’ ति कन्डक्टर बसका चालक देखि रिसाए ‘लमही भनेर क्लियर गरेर मान्छे राख्नु पर्दैन ?’ जवाफमा चालकले भने ‘लमहीकै भाडा माग , दिईहाल्छन् नि ।’ चालकको यो भनाईले पनि निश्चित स्थानमा पुग्ने भनेर चढेका यात्रुहरु कारणबस् बिच बाटोमा झर्नु परेमा वा सिटमा बसेकै कारण यात्रुहरुलाई जरिवाना तिराउने गरेको पुष्टि गर्छ नै ।
बिचबाटोमै ओर्लने यात्रुहरु सिटमा बसेकोमा थकथकी मानिरहेका कन्डक्टर भन्दै थिए ‘आज पुरै घाटा लाग्ने भयो ।’ उनका अनुसार घोराही देखि लमही वा लमही देखि घोराही सम्म पुग्ने बाहेक अन्य यात्रुहरुलाई सिटमा बस्न नदिईँदो रहेछ । ‘उभिएर गए जान्छन्, नत्र जान्नन्,’ ति कन्डक्टरले भने ‘सिटमा नजिक जाने मान्छेहरुलाई राख्ने हो भने त हामीहरुलाई ठूलो मार परिहाल्छ ।’
बस भाडाकै बिषयमा गरिएको बहसकै क्रममा यो पनि थाहा भयो कि जिल्लामा चल्ने अन्य लोकल बसहरुको पनि ‘दादागिरी’ चल्दो रहेछ । यात्रुहरु लोकल बसको दादागिरीले आजित बनिरहेका रहेछन् । त्यहि बसमा सवार एक महिलाले केहि दिन अघि मात्रै एउटा लोकल बसलाई घोराही देखि गोग्ली सम्मकै भाडा लमही सम्म लाग्ने पुरै भाडा ७० रुपैयाँ तिर्नु परेको सुनाईन् ।
ति महिलाका अनुसार उनीहरु चार जना थिए । उनीहरु सिटमा बसे । गोग्ली पुगेपछि उनिहरु झर्न खोज्दा बसका स्टाफले बिवाद गर्न थाले । लमही जाने भनेर सिटमा बसेको भन्दै चारैजनाबाट लमही सम्मकै भाडा प्रति ब्यक्ति ७०÷७० रुपैयाँका दरले बुझाउनु पर्यो । ‘लमही जाने भनेर किन सिटमा बसेको भनेर झगडा गर्न थाले, अनि लमही सम्मकै पुरै भाडा चाहिन्छ भनेर कराउन थाले,’ ति महिलाले भनिन् ‘१५ रुपैयाँ भाडा लाग्ने ठाउँमा चारैजनाले लमही सम्मको भाडा ७०÷७० रुपैयाँ तिरेका हौँ ।’
