- देवेन्द्र बस्नेत/तेस्रो आँखा
दाङ, पुस २० । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । यो प्रदेशमा अन्य,महिला र दलित तर्फका एक/एक गरि तीन सिटका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
मंगलवार गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरे । यसैगरि एमालेका रामदयाल गुप्ता,भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन् । १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा २९६ मतदाताले मतदान गर्ने छन् ।
गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामले गठबन्धनलाई सहज जीतको सम्भावना देखाईदिएको छ । उक्त उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे ४१४० मतभारका साथ बिजयी भएका थिए । त्यो बेला एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए ।
गत जेठमा भएको उपनिर्वाचनमा कुल ३ सय मतादाता थिए, जसमध्य २९६ मत खसेको थियो । आगामी १२ माघमा हुने निर्वाचनमा कुल मतदाता संख्या २९६ छ । दुईजना प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ । कारवाहीमा परेका जसपाका २ मतदाता सांसद घटेका छन् भने गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ ।
अघिल्लो उपनिर्वाचन भन्दा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा एमालेको मतभार थप घट्न सक्ने सम्भावना देखिन्छ । कारवाहीमा परेका दुई सांसदले उपनिर्वाचनमा एमालेलाई मतदान गरेका थिए । दुई सांसदको ९६ मतभार एमालेलाई यसपटक घाटा लाग्ने छ । यसैगरि निधन भएका बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादव पनि एमालेकै हुन् ।
यसैगरि एमालेबाट निर्वाचित अर्घाखाँची पाणीनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम पनि कांग्रेस प्रवेश गरेकी छिन् । यि दुई स्थानीय तहका प्रमुख र उपप्रमुखको मत नपाए एमालेलाई ३६ मतभार घाटा लाग्ने छ । निधन भएका गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा भने कांग्रेसबाट निर्वाचित भएका थिए । उनको निधन भएपछि गठबन्धनलाई १८ मतभार कम हुनेछ ।
यस्तो छ लुम्बिनी प्रदेशको मतभार
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ मध्य प्रदेश सांसद मतदाताको संख्या ८१ छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ छ । ८१ प्रदेशसभा सदस्यको मतभार कुल ३८८८ छ भने स्थानीय तह तर्फको कुल मतभार ३८७० गरि यो प्रदेशको कुल मतभार ७७५८ छ ।
यो मध्य प्रदेशसभा तर्फ गठबन्धन अन्तर्गत कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनतासमाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजबादी पार्टीका १ जना सांसद छन् । गठबन्धनमा आवद्ध दलहरुको मात्रै कुल मतभार २११२ कायम छ । यसैगरि गठबन्धनकै स्थानीय तह तर्फ कांग्रेसका ६३,माओवादीका ३६,जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ कायम देखिन्छ । यसरी प्रदेश र स्थानीय तह तर्फ गठन्धनको कुल मतभार ४२९० कायम देखिन्छ ।
यसैगरि एमालेको प्रदेशसभा सदस्य संख्या ३६ छ । एमालेको प्रदेशसभा तर्फको मतभार १७२८ कायम हुन आउँछ । यसैगरि स्थनीय तह तर्फ कुल ८८ प्रमुख तथा उपप्रमुख छन् । स्थानीय तह तर्फको एमालेको मतभार १५८४ छ । यसरी एमालेको प्रदेशसभा तथा स्थानीय तह गरि कुल मतभार ३३१२ कायम देखिन्छ ।
यसैगरि प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्र तर्फ देखिन्छ । स्वतन्त्र तर्फको कुल मतभार १२० रहन आउँछ । स्वतन्त्र तर्फको कुल मतभार एमालेमा गाभिए पनि सत्ता पक्षीय गठबन्धनले सहजै जित्ने निश्चित प्रायः छ । यो मतभारबाट आउने सम्भावित नतिजाले लुम्बिनी प्रदेशबाट एमालेले दुई सिट गुमाउने छ । एमालेका राष्ट्रियसभा सदस्य महिला तर्फ कोमल ओली र दलित तर्फका एमालेकै रामलखन चमारको स्थानमा राष्ट्रियसभा निर्वाचन हुने छ । गठबन्धनले जीत हात पारे राष्ट्रियसभामा एमालेको लुम्बिनी प्रदेशबाट दुई सिट गुम्ने छ ।
एकीकृत समाजवादी र राजमोलाई फाईदा
राष्ट्रियसभाको उपनिर्वाचनबाट कांग्रेसका दृगनारायण पाण्डेले जीत हात पारे । उनको स्थान पनि रिक्त हुने र उनको स्थानमा माघ १२ गते निर्वाचन हुँदैछ । पाण्डेको स्थानमा कांग्रेसबाट आगामी राष्ट्रिय सभा निर्वाचनमा युवराज शर्मा गठबन्धनको उम्मेदवार बनेका छन् ।
यसर्थ जीतको उच्च सम्भावना रहेकाले पनि कांग्रेसले राष्ट्रियसभाको रिक्त सिटमा आफ्नो उपस्थिती जनाउने छ । दुई सिट गुमाउन सक्ने देखिएको एमालेको दुई सिटमा नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चालाई फाईदा हुने देखिन्छ । गठबन्धनका तर्फबाट महिला र दलित तर्फको उम्मेदवार यि दुई दलले पाएका छन् । प्रदेशमा देखिएको गठबन्धनको मतभारले नेकपा एकीकृत समाजवादी र राजमोले पनि राष्ट्रिय सभामा एक/एक सिट पक्का गर्ने सम्भावना उच्च छ ।
