• ट्रेण्डिङ्ग :
नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री 

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री 


  • 4.0K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री 

    सुर्खेत २८ पुस/उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ । 

    images

    आज उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उहाँले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिनुभयो । 

    “सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ। आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले  भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ”, रक्षामन्त्री खड्काले भन्नुभयो, “ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन गर्दै जाने छु ।

    उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो  ।


    राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रुपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घको झण्डा मुनी रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै रक्षा मन्त्री समेत रहनुभएका खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्ति दूतका रुपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधैँ उच्च प्रशंसा हुने गरेको बताउनुभयो । यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उहाँको भनाइ थियो । 

    उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको गहन जिम्मेवारी पूरा गर्ने प्रमुख आधारशिला नै नेपाली सेनाको व्यावसायिक दक्षता रहेको र यसै कारणले नै शान्ति सैनिकका रूपमा नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घले प्राथमिकता दिने गरेको चर्चा गर्नुभयो । “नेपाली सेनाको व्यावसायिक क्षमतालाई सधैँ उच्च राख्न हामीले जोड दिनुपर्ने खाँचो छ। यसका लागि नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचना तथा सैन्य उपकरणहरूको पर्याप्त व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको छ”।

    नेपालको खेलकुद क्षेत्रको विकासमा पनि नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण भएको भन्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका धेरै खेलाडीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा विजय हासिल गरी नेपालीको नाम उच्च राखेको बताउनुभयो । “कर्णाली प्रदेशमा हालै सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न यस पृतना हेड क्वार्टरले पुर्‍याएको योगदानका लागि म पृतनापतिसहित सकल दर्जालाई विशेष धन्यवाद दिन चाहन्छु। आगामी दिनमा समेत यस क्षेत्रको खेलकुद विकासमा यहाँहरूले अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ, भन्ने विश्वास लिएको छु ।”


    उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता , भौगोलिक  अखण्डता, स्वाधीनता  र राष्ट्रिय एकताको रक्षाको लागि अनुशासित र व्यवसायी फौजी सङ्गठनको रुपमा नेपाली सेना अहोरात्र खट्दै आइरहेको उल्लेख गर्नुभयो । 

    “नेपाली सेनाले यस क्षेत्रमा पनि भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय निकुञ्ज सुरक्षा एवम् विपद् व्यवस्थापन तथा नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण लगायतका महत्त्वपूर्ण काम गरि रहेको भन्दै उहाँले भन्नुभयो, “यस पृतना अन्तर्गत कर्णाली प्रदेशका विकट तथा संवेदनशील क्षेत्रका विभिन्न स्थानमा तैनाथ रही गर्दै आउनु भएको सेवा प्रशंसनीय छ।


    तेस्रो आँखा