गुल्मी १ माघ/ मकर सङ्क्रान्तिका अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो बढेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा अवस्थित कालीगण्डकी नदीमा स्नान गरी त्यस नजिकै रहेको भगवान् हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।
आजका दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाममध्येको एक धामका रुपमा प्रसिद्ध धार्मिकस्थलका रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
त्यस अवसरमा स्थानीय रुरु फ्रेन्ड्स क्लब र फ्रेन्ड्स क्लबको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाइलो मेला सञ्चालन गरिएको छ । कालीगण्डकी नदीमा सञ्चालन हुन लागेको रिडी मेलामा हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायत वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजन आउने भएका कारण रिडी मेलामा व्यापार गर्नका लागि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत स्याङ्जा, प्यूठान, बाग्लुङ्, रुकुम, रोल्पा, पर्वतलगायत ठाउँबाट समेत व्यापारी रिडी आउने गर्दछन् ।
मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीलगायत कृषि उपजका वस्तु राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले राससलाई जानकारी दिनुभएको छ ।
मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जनभन्दा बढी सङ्घसंस्थाको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिनुभएको छ ।
