तेस्रो आँखा
दाङ,पुस २४ । लुम्बिनी प्रदेशका तीन जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएका छन् । दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन् । दाङमा हुकुम बहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो ।
यसैगरि पाल्पामा धनेन्द्रराज अधिकारीको अध्यक्षतामा जिल्ला नेतृत्व चुनिएको छ । यसैगरि बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार दुई जिल्लामा भने नेतृत्वका लागि चुनाव भएको छ । नवलपरासीमा मतदान भैसकेको छ भने शनिबार साँझदेखि मतगणना समेत सुरु भएको छ । यो जिल्लामा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ । दिपेन्द्र राज अधिकारी र ठगप्रसाद गैरे नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो ।
यसैगरि कपिलवस्तुमा पनि निर्वाचन हुने पक्का भएको छ । शनिबार साँझ उम्मेदवारी दर्ताको प्रकृया चल्यो । यसैगरि गुल्मी, अर्घाखाँची, रुपन्देही र प्यूठानमा भने सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको र त्यसकै लागि छलफल भैरहेको एमाले प्रदेश अध्यक्ष कँडेलले जानकारी दिए ।
यसैगरि रुकुम पूर्वमा माघ २२ र २३ गते जिल्ला अधिवेशन हुने छ भने रोल्पामा पनि सचिवको केही दिन अघि निधन भएका कारण रोल्पामा पनि अधिवेशन स्थगित भएको छ । प्रदेश अध्यक्ष कँडेलका अनुसार रोल्पामा अधिवेशन कहिले हुने भन्ने मिति भने तय भैसकेको छैन ।
