तेस्रोआँखा डेस्क
काठमाडौं, २६ पुस । नारायणहिटी दरबारको संग्रहालयको जग्गा बतास समूहले नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको मिलेमतोमै पाएको देखिएको छ ।
समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिएरै बतासलाई ठेक्का दिएको छानबिन समितिले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बतासको ठेक्का प्रकरणका लागि छानबिन समिति बनाएको थियो ।
समितिले गरेको छानबिनमा नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशकको मिलेमतो देखिएको हो । यसैगरि बतासले १४ रोपनी जग्गामा भौतिक संरचना बनाएको समितिले जनाएको छ ।
नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यस्थापन तथा सञ्चालन विकास समितिले जग्गाको सिमांकन नगरेरै जग्गा प्रयोग गर्न दिएको समेत छानबिन समितिले जनाएको छ । छानविन समितिले पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई आफ्नो छानविन प्रतिवेदन बुझाएको छ ।
