काठमाण्डाैं,२८ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना बिरुद्धको खोप लगाउन अटेर गर्नेलाई सामाजिक सुरक्षा भत्ता र उपभोक्ता समितिमा बस्न नदिने भएको छ। निःशुल्क खोप अभियानलाई समेत अविश्वास गर्ने, खोप बारेमा बुझाउन सञ्चालित सचेतनामुलक कार्यक्रमबाट समेत खोप लगाउन चासो नदिनेलाई गाउँपालिकाले थप अन्य सेवासुविधा समेत रोक्न सक्ने गाउँपालिका अध्यक्ष थमसरा मगरले बताइन्।
‘खोप नलगाएकालाई उपभोक्ता समितिमा बसेर काम गर्न पनि नदिने निर्णय भएको छ, अब पनि खोप लगाउन नचाहनेहरूलाई बाध्य बनाउँछौ’, अध्यक्ष पुन मगरले भनिन्। गाँउपालिकाले प्राथमिकतापूर्वक अभियान चलाइरहे पनि अन्धविश्वास, खोपबारे गलत सूचना, अचेतनाका कारण कोभिड–१९ विरुद्धको खोप लगाउन नगएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। कोरोना खोप नलगाउने अभिभावकलाई समेत विद्यालयको कार्यक्रममा सहभागी हुन दिइने छैन।
यता रघुगंगा गाउँपालिकाले समेत खोप नलगाएकालाई वडास्तरमै खोप अभियान सञ्चालन गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले खोप कार्ड नभएकालाई गाउँपालिकाले सेवा प्रवाहमा कडाई गर्ने बताए। खोप लगाउन अटेर गर्नेहरुलाई वडास्तरबाट प्रदान गरिने सेवा समेत रोक्न आवश्यक पत्राचार गरिने छ।
