एजन्सी, २८ पुस । अब को केही सातामा आधा युरोप कोरोनाको ओमिक्रोन भेरिएन्टको चपेटामा पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।
डब्लुएचओकाअनुसार ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालको रुपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिएन्टको वृद्धिदर भन्दा उच्च रहेको डब्लूएचओले जनाएको छ। गएको दुुई सातामा युरोपको कोरोना संक्रमणदर दोब्बर भन्दा बढी भएको छ।
डब्लुएचओका डा. हान्स क्लगले सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेकोे डेल्टा भेरिएन्टको लहरमा थपिएको आमिक्रोन भेरिएन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गरेको उल्लेख गरे। उनले पत्रकार सम्मेलनमा भने 'आगामी छ देखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशत भन्दा बढी जनसंख्या आमिक्रोनको चपेटामा पर्नेछ ।'
डा.हान्सले अब कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरु, खोप वितरणकोस्थिति र सामाजिक-आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्ने पनि स्पष्ट पारे। पुरानो भेरिएन्टको तु्लनामा ओमिक्रोन भेरिएन्टले कम बिरामी पार्ने सम्भावना भए पनि यो अत्याधिक मात्रामा संक्रामक भएकोले सचेत रहनुपर्ने पनि उनले सुझाए ।
फ्रान्सका स्वास्थ्यमन्त्री आलिभ भेरानले गत हप्ता जनावरी अस्पतालहरुका लागि कठिन बन्ने बताएका थिए। पुर्वी युरोपस्थित पोल्यान्डमा महामारी सुरु भएदेखि हालसम्म कोरोना संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको जनाइएको छ। त्यस्तै रुसमा कम्तीमा ३ लाख ११ हजार २ सय ८१ जनाको मृत्यु भएको रोयटर्सले जानकारी दिएको छ।
