सत्यकथा : पोर्चुगल सपनाको दुःखान्त

सत्यकथा : पोर्चुगल सपनाको दुःखान्त


  • 26.2K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 40.3K Views

    सत्यकथा : पोर्चुगल सपनाको दुःखान्त

    नुमेश घर्तीमगर

    images

    राज्यसत्ताले जति ढाकछोप गरे तापनि देशमा आर्थिक मन्दी छ । सामान्य अवस्थाभन्दा अहिले सहरमा सटरहरू बन्द भएको देखिन्छ । व्यापारीहरू हाइ काढ्दै ग्राहकलाई पर्खिरहेका हुन्छन् । मध्यमवर्गले सहकारीबाट लिएको २/३ लाख ऋणको किस्ता तिर्न सकिरहेका छैनन् । घरमुलीको आम्दानी कम, परिवारमा खर्च बढेका कारण आर्थिक कारोबार लथालिङ्ग भएको हुनसक्छ ।

    जन्मिएर ढुङ्गा खेलाउँदै हुर्किएको माटोको माया लाग्नु भनेकै स्वतः देशभक्ति हुनु हो । नेपाली युवामा राष्ट्रप्रतिको श्रद्धामा ह्रास आयो भन्नु परदेशीहरूको अपमान गरेजस्तो लाग्छ । अबोध छोराछोरी । डाँडाका घामजस्तै बाआमा । जीवन साथीलाई चटक्क छोडेर प्रदेश हिड्दा कटक्क मन त खाइहाल्छ । डाँको छाडेर आँसु झार्नेलाई मात्रै रोएको भनिदैन ।

    लाखौं खर्चेर परदेश पुगेकाहरूलाई तिमी नेपाली रहेछौ कठै भनेर त्यहाँको सरकार÷पूँजीपतिले बसेरै तलब दिँदैनन् । कडा मेहनतबापत पाउने पारिश्रमिक नेपालको तुलनामा बढी पक्कै हुन्छ । २ दिन बिरामी हुँदा तातो पानी पिलाउने कोही नहोला । 

    अस्पतालमा रुङ्ने आफन्त नपाइएला । रोजगारी गुम्ने त्रास उत्तिकै । परिवार, आफन्त अनि देशदेखि ढाटा एक्लै मरिने डर । आफ्नो लाश परिवारले देख्न पाउलान्न/पाउलान् भनेर मृत्युपछिको पनि चिन्ता लिइरहने मान्छेलाई देशप्रतिको प्रेम सकिएकै हो त भनेर नसोधौं ।

    गाउँमा हलो जोतेर होस् या स्थानीय सरकारले पारेको बजेट सिध्याउने बाटो खनेर हुन्छ जेनतेन जीविकोपार्जन गरिरहेका केही युवालाई त्यो समुदायले सन्चो मनले बस्न नदिने स्थिति छ । यो दलाल पूँजीवादी व्यवस्थाले आममानिसलाई पनि उपभोक्तावादी बनाएको छ । विदेश जान अटेरी गर्ने र सम्पत्ति नजोड्ने युवालाई बेग्लै नजरले हेरिन्छ । यो त अकाट्य सत्य हो, गाउँमा छोरा छैनन् । बुहारी सदरमुकाम झरेकी छन् । बूढा बाआमाले पुख्र्यौली घर रुँगेर बसेका छन् । कोही मान्छे म¥यो भने मलामी नभेटिएर मसानघाटसम्म पु¥याउन मुश्किल छ ।

    जमिन बाँझो छोड्नेलाई कारबाही गर्ने नीति ल्याएको छ सरकारले । लागु गर्न बाँकी छ । भलपानीले धान रोप्ने खेत हुन् गाउँका । विगतका केही वर्षदेखि असारमा मात्रै होइन साउनमा पनि वर्षा हुन छाड्यो । जसरीतसरी लगाएको धान पाक्नेबेला वन्यजन्तुबाट बचाउन गाह्रो छ । दिउँसो बाँदरलाई धपाउन सक्छन् किसान । रातिमा आउने बँदेल र दुम्सीलाई के गर्ने ? राज्यको नीतिमा कारबाही मात्रै होइन समाधान पनि हुनुपर्छ । तराईका खेतीयोग्य जमिन त अहिले टुक्राटुक्रा पारेर घडेरी बनाइएको छ । सांसदज्यू भन्नुहुन्छ, ‘परदेशदेखि युवा बोलाउनुपर्छ । घरदेश छोड्ने युवा रोक्नुपर्छ । जनताबाट उठाएको करले तपाईंको तलब बन्छ र पो बोल्न सजिलो छ । मन्त्रीज्यू देशको मायाले मात्रै पेट भरिँदो रहेनछ । श्रमको मूल्य जसले बढी दिन्छ, श्रमिक उतै ढल्कन्छन् ।
     
    निम्न वर्गका एकजना मेरा सहकर्मी जसलाई पोर्चुगलको सपनाले निदाउन दिएको थिएन । ‘स्वप्न’ परिवर्तित नाम । समाज, सपना र सम्भावनाले मानिसको जीवनमा कसरी उथलपुथल ल्याइदिन्छ ? उनको व्यथाले कसैलाई सचेत बनाउला ? कोहीलाई हाँसो उठ्ला । केहीले बेकुफ ठान्लान् । तर ज्यानको जोखिम मोलेर परदेश हिड्नेहरूलाई मात्रै थाहा हुन्छ जीवन संघर्ष के हो ? हालसालै रुसी सेनामा भर्ती भएकाबारे सोच्नुस्, युद्धभूमिमा ज्यानको बाजी थाप्नेहरूलाई रहर होला या बाध्यता ? भष्म या भविष्य एक मात्रै विकल्प देखेर होमिएका होइनन् र ? 

    म साइप्रस उड्ने तरखरमा हुँदा स्वप्नले सम्पर्क गरे ह्वाट्सअपमार्फत् । उनका लागि केही सामान बोकेर साइप्रस अवतरण भएँ । हुन त म मजदूरी गर्ने मान्छे । देशभन्दा धेरै परदेशमा वर्षहरू बिताएँ, तर युरोपको सानो देश साइप्रस मेरो नयाँ गन्तव्य थियो । समुदाय कस्तो होला ? काम गर्ने वातावरण अनुकूल होला/नहोला । यस्तै उस्तै केही सन्ताप र तनावहरूसँगै पुगें ।

    स्वप्नसँग काम गर्दै जाँदा व्यक्तिगत तथा पारिवारिक चर्चा हुनु स्वाभाविकै थियो । नयाँलाई सहयोग गर्ने उनको व्यवहार प्रशंसनीय छ । कुरै कुरामा एकदिन उनले भने, ‘म त शरणार्थीजस्तै हुँ । सरकारले एउटा कागज दिएको छ, त्यसैअनुसार काम गर्न पाइन्छ । अहिले शरणार्थीहरूलाई समाउँदै नेपाल पठाउँदै छ । म यति चाँडो देश फर्कन चाहन्छु तर आएको ऋण तिरिसकेको पनि छैन ।”

    म झसङ्ग भएको थिएँ । तीनपल्ट जति इमिग्रेसन कार्यालयदेखि मान्छे जाँच गर्न आयो भन्ने हल्लैहल्लामा उनी गर्दै गरेको काम पनि छोडेर भागे । केही दिनसम्म अत्यास मुद्रामा हुन्छन् । यो देशको नियम बुझिन मैले । शरणार्थीको कागजात दिएर काम खोजेर गर पनि भन्ने । अनि बेलाबखत छापामार शैलीमा पकडेर देश फिर्ता पनि गरिदिने ।

    निम्म माध्यमिक उत्तीर्ण गरेका स्वप्नले नेपालमै आत्मनिर्भर बन्न नवलपरासीको बर्दघाटमा फेन्सी पसल सुरु गरेका थिए । दुई वर्ष राम्रै व्यापार भयो । त्यसपछि कम हुँदै गयो । अन्तमा पसल बन्द गर्न करै लाग्यो । लागत उठ्यो, नाफा भएन । पुनः सामान थपेको ऋण जस्ताको त्यस्तै रह्यो । उनको दुखेसो छ, “ग्राहकले सीमापारिदेखि सामान खरिद गर्ने चल्ती आउँदा नेपाली व्यापारीलाई धक्का पुग्यो । प्रशासन मूकदर्शक छ । भन्सारमा लौरो समाएर उभिएका प्रहरीलाई सय पचास जेबमा कोचिदिए जति पनि सामग्री भित्राइदिन्छन् । मूल्यअनुसारको भन्सार कर पनि तिर्नुपर्दैन । हामीले दिने मूल्यभन्दा कममा पाइहाल्छन् । मानिसको स्वभावै यस्तै फाइदा खोज्ने । मलाई पनि घाटा हुँदा पसल बन्द गरेको थिएँ ।” 

    स्वप्नलाई ऋण तिर्नकै लागि विदेश जाने हुटहुटी जाग्यो । राजधानीका मेनपावरलाई सम्पर्क गरे, तर तिनीहरूले समयमै खाडी मुलुक उडाउन सकेनन् । बाह्र लाख दिने सम्झौतामा माल्टा र पोल्याण्डको कुरा चल्यो । त्यो देशको भिसा लागेन । ऋणको ब्याज बढ्दै थियो । आत्मीय साथी चेतमानले (काल्पनिक नाम) बाह्र लाखमै पोर्चुगल पठाइदिने एजेन्ट भेटाएको सुनाए । त्यो देशबारे छरछिमेक, परिवार र आफन्त पनि सकारात्मक थिए । लाग्यो, सुखद र सुन्दर भविष्य त उतै रहेछ भनेर ठूलो सपना बुन्न लागे ।

    साथी चेतमान पनि स्वप्नसँगै विदेश हिड्ने भएपछि एजेन्टमाथि विश्वास गरेर डेढ लाख बुझाएपछि पोर्चुगलको यात्रा सुरु भयो । बाआमाले कुशलै गन्तव्यमा पुग्ने आशीर्वाद दिनुभयो । छिमेकीले विदाइका हात हल्लाए । पूmलमाला र टीका लगाएका स्वप्नलगायत आठजना बुटवलमा भेटिए । भारत जानुपर्ने र उतैबाट पाँच दिनभित्र भिसा आउने अनि उड्ने आश्वासनसहित सबै दिल्लीको बस चढे । आठैजना एकैचोटी ठगियौंला भन्ने सोचसमेत आएन । साथमा एजेन्ट पनि थियो । दिल्लीको कुनै एक होटलमा बसाल्यो । एजेन्टले कुरा बंग्याउन थाल्यो । पहिला दुबई पुगेपछि बल्ल पोर्चुगल उड्न पाइने बतायो । शङ्का त थियो, तर विश्वास गर्न पनि बाध्यता थियो । आखिर सपना पोर्चुगलको हो । पाँच सातदिनमा उडाउने शर्तमा थप अढाइ लाख मागेर एजेन्ट नेपाल फर्कियो । भोलि पर्सि भन्दै होटलमा एक महिना बित्यो । फोनमार्पmत निरन्तर गाली र धम्की दिएपछि हवाई जहाजमा त चढायो तर पञ्जाबमा पो अवतरण गरायो स्वप्न र चेतनलाई । त्यहाँदेखि दुबई उड्न दिएन बरु पञ्जाब प्रहरीले समात्यो । सोधपुछ गर्दै नराम्रो व्यवहार देखायो । विमानस्थलमै काम गर्ने एकजना नेपालीसँग आफ्नो समस्या राखेपछि उनको मद्दतले दिल्ली फर्कन सफल भए । पोर्चुगल हिडेको मान्छे घर फिर्ता हुनु पनि लाजमर्दो हुने भयो । एजेन्टलाई थर्काएपछि उसले फेरि मुम्बईको टिकट काटिदियो । सुन्दा पनि अचम्मको स्वप्नले झन भोग्दै थिए । त्यहाँ अर्को नेपाली एजेन्ट भेटियो । उसले पनि होटलमा बस्ने प्रबन्ध मिलायो । साढे तीन लाख डुबिसकेको हुँदा दलालले जे भन्छ त्यो मान्न बाध्य भएँ । पन्ध्र दिन बित्दा पनि भोलि र पर्सिमा मात्रै टा¥यो । स्वप्न र चेतन साथैमा थिए । होटलबाहिर निस्कन खोज्दा साहुले पैसा तिरेर मात्रै जान सक्ने बतायो । मुम्बईमा भेटिएको दलालले फोन उठाउन छाड्यो । अब भने ठगिएको पक्कापक्की हुन थाल्यो । पोर्चुगल पुग्ने कहिले ? बरु अहिले पन्ध्र दिन बसेर खाएको भाँडा माझ्नुपर्ने हुन्छ कि भनेर डर लाग्न थाल्यो । तिनीहरू चुपचाप भने बसेका थिएनन् । फोनद्वारा, सामाजिक सञ्जालबाट कसै न कसैलाई सम्पर्क गरिरहेका थिए । चेतमानले चिनेको महिला एजेन्ट काठमाडौंमा रहिछन् । उनले चाँडोचाँडो भिजिट भिसामा दुबई उडाउने जानकारी दिइन् । दिल्लीसम्म ल्याएको दलाललाई सम्पर्क गरेपछि तुरुन्तै मुम्बईदेखि काठमाडौंको टिकट काटिदियो ।

    काठमाडौंमा मध्यान्ह बाह्र बजे अवतरण भएका चारजना राति बाह्र बजे नै दुबईका लागि उडे एक महिनाको भिजिट भिसामा । ओहो ! दलालको पहुँच कहाँकहाँसम्म हुँदो रहेछ ? दलालले मात्रै यो सब गर्न सक्ने सम्भव देखिँदैन । सरकारी कर्मचारीलगायत, नेता, सांसद, मन्त्रीसमेतको मिलेमतो छ । किलोका किलो सुन त्यसै कहाँ भित्रन्छन् ? दुःखद कुरो भरिया मात्रै समातिन्छन् । 

    दुबईमा पाकिस्तानी दलालले एक महिना सोह्र दिन बसाल्यो । खान र सुत्न समस्या थिएन, तर त्योभन्दा महत्वपूर्ण गन्तव्यमा पुगिन्छ कि नाइँ ? डर लाग्थ्यो, कतै मानव बेचबिखनको फन्दामा त परिएन ? जाऊँ कहाँ ? नजाऊँ जेलजस्तो दैनिकी । यस्तो के सपना देखिएछ पहिले निदाउन दिएन अहिले ज्यान धरापमा प¥यो । 

    दुबईमा पोर्चुगल जाने तेह्रजना नेपाली जम्मा भए । थप पैसा माग्यो । जजसले रकम बुझाउँछ, उसलाई एकएक गर्दै उडायो, तर कहाँ ? थाहा भएन । स्वप्नका आत्मीय साथी चेतमान र दुईजना नेपाल फर्किए । स्वप्नलाई पनि फिर्ता जाने मन त लागेको थियो । परिवारले पनि त्यसै भन्थे, तर परिश्रमको फल मिठो हुन्छ । कसो नपुगिएला भन्ने लाग्यो । डुबेको रकम फिर्ता हुने सम्भावना शून्य थियो । पचास हजार बुझाएपछि पाकिस्तानी दलालले सिधै पोर्चुगल जान नपाइने भएकाले उत्तर साइप्रसको टिकट बनाइदियो विद्यार्थी भिसाको । ट्रान्जिट थियो टर्कीको स्तनबुल । स्वप्नलाई अंग्रेजी भाषा प्रष्ट आउँदैन । उनीसँग दुईजना पाकिस्तानी मात्रै थिए । भोक, प्यास, तनाव पचाउनु त सामान्यजस्तै लाग्न थालेको थियो । स्वप्न अभैm पनि बोल्दै गर्दा झस्कन्छन्– “भाषा नजानेको हुँदा झन्डै जहाज छुटेको रहेछ टर्कीमा । त्यहाँ पनि एकजना नेपालीको सहायताले हवाईजहाज चढें ।”

    पोर्चुगल पुग्ने सपना अभैm मरिसकेको थिएन । यति कष्टहरूपछि सुखद क्षण किन नआउला र ? घरदेखि हिडेको तीन महिना पुगिसकेको थियो । पारिवारिक चिन्ता त थियो नै आपूm सकुशल गन्तव्यमा पुगिन्छ कि नाइँ भन्ने त्रासले न राति आरामले निदाउन सक्थें न त दिनको खाना राम्ररी खान्थे । दलालले ठगेको समाचार धेरै सुनेका थिए । आपूm जोगिन निकै कसरत गरे तापनि दलालको फन्दामा परिहाले । लालचले मान्छेको हालत बिगार्छ भनेको सत्य रहेछ । स्वप्नले बेलाबखत निधार ठोक्छन् ।

    उत्तर साइप्रसको विमानस्थलको कर्मचारीले कलेजबारे सोध्यो किनकि भिसा विद्यार्थीको थियो । दुबईमा पाकिस्तानी दलालले जे सिकाएको थियो, त्यो बल्लतल्ल भनेर स्वप्नले अनुमति पाए । बाहिर अर्का पाकिस्तानीले उनलाई पर्खेको रहेछ । तीन दिनसम्म कलेजमा हाजिर पनि भए, त्यो देखावटी मात्रै थियो । गन्तव्य त पोर्चुगल नै हो । दलालको कुरा सुनेपछि फेरि छाँगादेखि खसेजस्तो भए । पोर्चुगल जान अभैm दुई महिना लाग्ने बतायो । साइप्रस गए कामको भिसा उसैले लगाइदिने र नौ सय युरो तलब दिलाइदिने लोभ देखाइदियो । दुबईबाट छुटेका साथी उत्तर साइप्रसमा भेटिँदा अचम्म लाग्यो । साथीहरू पोर्चुगल पुगेका होलान् भन्ठानेको यतै रहेछन् । उनीहरूले स्वप्नभन्दा धेरै लाख डुबाइसकेका थिए । ऋणमाथि ब्याज थपिएको थियो । घर छोडेको तीन महिना बितिसक्यो । पोर्चुगल पुग्ने कहिले ? कमाउने कहिले ? ऋण तिर्ने कहिले ? अनि सुखी र खुसी जीवन बिताउने कहिले ? पोर्चुगलको सपना त्यहाँ आएपछि तुहियो । अब साइप्रस गएरै भिसामा काम गर्नुपर्छ भन्ने सोच आयो, तर दलालले त्यत्तिकै पठाउन मानेन चार लाख माग्यो । एकछिन पैसा दिन्न भनेर रिसाएँ । त्यो ठग झन् के कम ? नेपाल फिर्ता पठाइदिन्छु भनेर धम्कायो । दुईजना नेपालीहरूलाई फर्काइदियो पनि । चार लाख तिरिसकियो । रित्तै घर कुन मुख लिएर फर्कनु ? नेपालको दलालसँग सम्पर्क विच्छेद भइसकेको थियो । स्वप्नका साथी चेतमान दुबईबाट नेपाल फर्किएको थियो । उसले कुरा मिलाइदिने जानकारी गरायो । घर बाआमालाई फोन गरेर चार लाख लिन यस्तो मान्छे आउँछ दिनु भनेर बताइदिएँ । “छोरा फर्केल्” नभनेका होइनन् बाआमाले तर कसरी जाने पैसाबिना ? स्वप्नले थप रकम तिरेपछि आत्मीय साथी चेतन पनि दलालसँग मिलेको आभास भयो । उनी भावुक हुँदै भन्छन्– “पैसाका लागि आफ्नै साथीले घात ग¥यो । एउटै थालमा खाएर हुर्केका थियौं । एकै ओछ्यानमा सुत्थ्यौं । अब हाम्रो दूरी बढ्यो । साथीभन्दा माथि रुपैयाँ रहेछ । हिजोआज सम्पर्कविहीन छौं ।” 

    उत्तर साइप्रसदेखि मुख्य साइप्रस जान त्यत्ति सजिलो रहेनछ । नाम उस्ताउस्ता भए तापनि भिसा चाहिँदो रहेछ । उत्तर साइप्रस टर्कीको अधीनमा रहेछ । पाकिस्तानी दलालले चकमन्न रातमा घना जंगलबीच छोडिदियो । लगेज लैजान नपाइने भएपछि ठूलो झोला किनिएको थियो । जाडोको महिना भएको हुँदा स्वप्नले चारवटा जकेट लगाए । वनमा पानी पर्न लाग्यो, कोही लिन आएन । चारजना नेपाली दुईजना पाकिस्तानी खासखुस गरेर बाटो छेउँमा कुरिरहे । दलालले डर हाल्दिएको थियो, सेनाले भेटायो भने नसोधरै गोली ठोक्छ । त्यो रात कि मृत्यु कि मुक्तिको थियो भनेर ओंठ कपाउँदै स्वप्नले कुरा अगाडि बढाउँछन् । जिउँदो फर्कंदा थुक्ने समुदायले लाश देख्दा कमसेकम बिचरा त भन्लान् । यसै पनि बैंकको ऋण नतिरी सुख पाइँदैन । मरेपछि केही देखिँदैन जेजे हुन्छ के मतलब ? धनका लागि ज्यान पलपल जोखिममा । लामो पर्खाइपछि एउटा गाडी आएको थाहा पाएँ । भाग्नु कि बस्नु भयो । लिन आएको हो कि गोली ठोक्न कसरी चाल पाउनु ? संयोगवस त्यो दलाल नै रहेछ । तीनजना अटिने सिटमा छजना बसे । स्वप्नको बाक्लो लुगा एकजना यात्रु बराबरी थियो । दलालले अँध्यारोमै मुख्य साइप्रसको निकोसिया भन्ने सहरमा छोडिदियो । चिसोमा काठिँदै कोही लिन आउने प्रतीक्षामा बसे बिहानसम्म । सेनाबाट जोगिए तापनि अगाडिको योजना पाकिस्तानी दलालकै हातमा थियो, किनकि उसले नै भनेको थियो साइप्रसको भिसा लगाइदिने ।

    आधा बिहान हुँदासम्म कोही खोज्न आएन । बारम्बार पाकिस्तानी दलाललाई फोन गर्दा उठाउँदैन । फेरि धोखा ? तबसम्म आठ लाख डुबिसकेको थियो । विद्यार्थी भिसामा रहेका एक नेपाली युवा आइपुगे । उनले आपूm बस्ने घरमा लगेर गए । थाहा छैन उनी पनि दलालसँग मिलेका थिए÷थिएनन्, तर त्यहाँदेखि उद्धार गरेर ठूलो गुन लगाए । तीन दिनपछि दिमागमा चट्याङ प¥यो । पाकिस्तानी दलालले भिसा लगाउन नमिल्ने जानकारी दिँदै अर्को उपाय बतायो वकिललाई पाँच सय युरो तिरेर साइप्रस सरकारसँग शरणार्थी बन्न अनुरोध गर्ने । त्यसपछि ऊ पनि सदाका लागि सम्पर्कविहीन भयो । दलालमाथि दलाल लागेर आठ लाख खाइदिए । न पोर्चुगल पुगियो न त साइप्रसको भिजा नै लाग्ने भयो, मरौं कि बाँचौं हुँदै साँघुरो कोठामा थुनिए ।

    विद्यार्थी भाइसँग तीन महिना सँगै बस्दा खर्च आफैले भर्नु पथ्र्यो । डेरा भाडा पनि तिर्नु पथ्र्यो । स्वप्नका साडु दाइले चिनेको साथी साइप्रसको पाफस सहरमा रहेको पत्ता लगाएपछि उनले निकोसिया सहरमा बस्ने दिदीसँग सम्पर्क गराइदिए । आँसु मात्रै चुहाउन नसकी दुःखका कहानीभन्दा ती दिदीले सापटी सही केही रकम दिँदा तीन महिनासम्म खान र बस्न पुग्यो । यो घटना हो, सन् २०२० को । जुनबेला विश्वभरि कोरोना महामारी पैmलेको थियो । साइप्रसमा पनि निषेधाज्ञा थियो । शरणार्थी बनेर काम गर्ने कुनै सम्भावना थिएन । इमिग्रेसनले भेटेमा सिधै नेपाल फिर्ता गरिदिन्थ्यो । निषेधाज्ञा अलिक खुकुलो भएपछि साडु दाइको साथीले पाफस सहरमा बोलाए । मिलेर बस्ने घर मिलाइदिए । छनलाई त सबै नेपाली युवायुवती थिए, तर रक्सी पिएर झगडापछि भौतिक लडाइँमा उत्रन्थे । एकदिन केटाकेटीबीच नै हानाहान भएपछि रक्ताम्मे भए । प्रहरी आएर छानबिन गर्न सक्थ्यो । भिसा नभएकाहरूलाई इमिग्रेसनकहाँ लगेर जान्छ भन्ने त्रासले स्वप्न त्यहाँदेखि भागे । 

    पाफसमा राम्रा साथीहरूसँग पनि चिनजान भएको थियो स्वप्नको । घण्टाको तीन युरोमा कृषितिर काम मिल्यो, तर तीन चार घण्टा मात्रै पाइन्थ्यो । त्यो युरोले खान र डेरा भाडा पनि तिर्न पुग्दैनथ्यो । नेपालमा साथीहरूको घरमा बाआमाले पैसा पठाइदिएपछि यता युरो दिन्थे स्वप्नलाई र गुजरा चल्थ्यो । यति गर्दा नेपालदेखि पाफस बस्दासम्म बाह्र लाख ऋण पुगिसकेको थियो ।

    खतराको घण्टी बजेको डेरामा जानु भनेको कुनै पनि बेला इमिग्रेसनका मान्छे आएर नेपाल पठाइदिन सक्थे । प्रायः तिनीहरूले छापा मार्ने समय मध्यराति र एकाबिहानै हुन्थ्यो । अनि स्वप्न र अर्का साथीले रात सार्वजनिक पार्कमा बिताउन थाले । तीन चार घण्टा कृषिमा काम ग¥यो । बाहिरै खायो । पार्कमा सुत्यो । गर्मी मौसम भएको हुँदा ओढ्ने त चाहिँदैनथ्यो । मच्छडले टोकेर हैरान पाथ्र्यो । चकमन्न शहरमा झकमक्क बत्ती । खुला आकाशमा टाढाका तारा हेर्दै उज्यालो बनाए । तर मन अँध्यारो नै रहन्थ्यो । पशुभन्दा पनि नीच दैनिकी थियो । पुरुष रुनु हुन्न भन्ने मान्यता राख्ने संस्कृतिमा हुर्किएका उनको साँच्चै आँसु आउँदैनथ्यो । दिल रोएको कसले पो देख्थ्यो र ? धन कमाउने सपनाले ज्यान खतरामा परिरह्यो । 

    डेरा सारेपछि आर्थिक भार झन बढ्यो । साडु दाइलाई जसरी भए पनि काम मिलाउन लगाए । हुन त उनी स्वप्नदेखि दिक्क भएका हुँदा हुन् । किनकि उनले बारम्बार स्वप्नलाई साइप्रस नआउन आग्रह गरेका थिए । भनेजस्तो काम र दाम नपाइने । यहाँदेखि सजिलै पोर्चुगल जान पनि नसकिने भएर पनि होला । अन्तमा वकिललाई एक सय पचास युरो तिरेर शरणार्थी कागज मिल्यो । राहदानी साइप्रस सरकारमा जम्मा भयो ।

    दुईजना मिलेर डेरामा बस्न थाले । ती साथी थिए नेपाल मध्य पश्चिमका । पाफस पुगेर आत्मीय बनेका उनीसँग हित्तचित्त मिलेको थियो । कृषिमा सँगै काम गरेबापत दिनको पैंतीस युरो मिल्थ्यो । दिउँसो चर्को घाममा पनि जोतिनै पथ्र्यो । कहिले आधा रातमा पनि बारीमा पानी खोल्न पुग्नुपथ्र्यो । त्यो पारिश्रमिकले खान र बस्न त भयो । सोचेजस्तो ऋण घटाउन सकिएन । सात महिना सँगै काम गरेर बस्दा बल्ल चाल पाए, मालिकले दिनको चालीस युरोे दिँदो रहेछ । पाँच युरो त आफ्नै साथीले कमिशन खाँदो रहेछ । परदेशमा नेपालीमाथि विश्वास उड्यो । साथीकै नामबाट ठगिएका स्वप्न त्यहाँ छोडेर अर्को कृषि मालिकसँग काम गर्न पुगे । उसले बस्न दिएको थियो र महिनाको सात सय युरो दिन्थ्यो । अब भने अलिक शान्तिको सास फेर्ने भए । ऋण घट्ने आश लाग्यो ।

    चिनेको साथी नेपालदेखि साइप्रस त्यो पनि स्वप्नकै नजिक आएका रहेछन् भिसामा । १४–१५ महिनापछि बल्ल चाल पाउँदा झन्डै डाको छोडेर रोए । उनकै मद्दतले रेष्टुरेण्टमा भाँडा माझ्ने काम पाए । किनकि स्वप्नले दिल्ली र नेपालको रेष्टुरेण्टकोे किचनमा काम गरिसकेका थिए । स्थानीय खाना भएकोले केही दिन भाँडा साफ गर्नमै दिन बित्यो । बिस्तारै स्थानीय भाषा र खाना सिक्ने मौका पाए । परिश्रमबाटै उस्ताद र मालिकको मन जित्दै गए । डेढ महिनामै खाना बनाउन लागे । हिजोआज पूरै किचन सम्हाल्ने भएका छन् ।

    स्वप्न शरणार्थी कागजात र पारिश्रमिकले सन्तुष्ट छैनन् । राहदानी हातमा हुनेहरू दलाललाई चार पाँच हजार युरो तिरेर पोर्चुगल पुगे । भविष्य सुखमय हुने सपना बुनिरहेका छन् । आफ्नो भने राहदानी सरकारसँग जम्मा भएको हुँदा नेपालभन्दा अन्त जाने सम्भव छैन भनेर निरीह बन्छन् उनी । तर उनको पोर्चुगलको सपना जीवितै छ । भन्छन्– “कोसिस गरे कसो नपुगिएला पोर्चुगल ?”

    म भन्छु– “त्यति दुःख भोगेर आएका छौं । यहाँदेखि पोर्चुगल जान पनि सोचेजस्तो सजिलो छैन । एक हप्ताजति जंगलको बाटो हिड्नु पर्छ रे । कोही पुगे । केही साइप्रस नै फर्के । अरूले पीडा पाए । पोर्चुगलमा पनि काम नपाएर युवाहरू भौंतारिरहेको समाचार सुनिन्छ । त्यो सपना देखेको के अर्थ जसले निदाउन दिँदैन । निदाएपछि सपना देख्नु पो राम्रो होइन र ? 

    स्वप्न मुसुक्क हाँस्छन्, केही बोल्दैनन् ।

    लेखक तेस्रो आँखा डटकमका साइप्रस प्रतिनिधि हुन् । उनको ‘बिर्सिएको सत्य’ उपन्यास प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # पोर्चुगल सपनाको दुःखान्त

  • नुमेश घर्तीमगर
    लेखकबाट थप