काठमाडौं, ३० पुस । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसन पक्षमा नेपाल उद्याेग बाणिज्य महासंघ बाेलेकाे छ। महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बतासमाथि भइरहेको एकतर्फी प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याक्टेरिया संचालनको अनुमति पाएको विज्ञप्तिमा उल्लेख छ।
सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघले जनाएको छ विज्ञप्तिमा भनिएको छ, 'प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिदैन तर त्यसको सत्यतथ्य खोजी हुनु पर्छ भन्ने हाम्रो मान्यता छ।'
संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको महासंघले जनाएको छ । सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने भन्दै महासंघले चिन्ता प्रकट गरेको छ।
महासंघले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको छ ।

