तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत


  • 3.4K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

    काठमाडौँ, २७ माघ/त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

    images

    सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्य सम्राट बालकृष्ण समको १२२ औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पुर्याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही एक लाख नगद राशीसहित पुरस्कृत गरेको हो । 

    छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउनुभएका प्रा।मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार २०७९ प्रदान गरिएको छ । मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हाँसिल गर्नुभएका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

    त्यसै गरी नेपाली भाषा साहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनुभएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

    निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताउनुभयो । त्रिमुर्तिका पुरस्कार राशि सुरुमा १०(१० हजार रहेपनि अहिले एक लाख बनाइएको उहाँले जनाउनुभयो । लेखनाथ काव्य पुरस्कार, २०७९ बाट पुरस्कृत प्रा।मुकुन्दशरण उपाध्यायले सम्पूर्ण प्रकाशनले नेपाली भाषाको विकासमा संकल्प गर्न जरुरी रहेको बताउँदै विशेषगरी त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्नामा उन्मुख हुन आवश्यक रहेको बताउनुभयो । 

    नेपाली भाषाप्रतिको संरक्षण तथा सम्मानको वातावरण अनुकूल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरुमा समर्पण गर्दै आएको छ । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । रासस


    तेस्रो आँखा