काठमाडौं, १ माघ । थारु बस्तीमै ‘रक्सी-मासु’ छोइछिटो जमिन्दारको जग्गामा ‘अधियाँ हकदार’ रहेर लामो कालखण्ड बिताएको थारु समुदायमा आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भयो । लोकतन्त्र पश्चात यो समुदायले अंगिकार गरेको ‘शाकाहारी अभियान’ थारु समुदायमा आएको अर्को महत्वपूर्ण परिवर्तन हो ।
विगत देखिनै थारु समुदायमा माछा, मासु तथा जाँड, रक्सीको ठूलो महत्व रहने गर्दछ । कुनै पुजा होओस् वा ठूलो पर्व । यी चिजहरु अनिवार्य मानिन्छन् । यहाँसम्मकी जाँड, रक्सी सेवन गर्नुलाई थारु समुदायले जन्मजात गुण जसरी ‘जातैले दिएको’ भनेर बयान गर्छन् । तर, पछिल्लो समय भने थारु समुदायमा मांसाहारी जीवनका बेफाइदा खोज्न थालिएको छ । सँगै शाकाहारी जीवनका फाइदाबारे अधिक प्रचार प्रसार पनि । केही वर्ष यता चाडपर्वको खुशीयालीका नाममा गरिने अनावश्यक विलासितादेखि थारु वर्ग सचेत बन्दै गएको देखिन्छ ।
मदिरा पिउनुलाई धार्मिक महत्व र पुर्खाले चलाएको ‘रीत’ ठान्ने थारु समुदायका बुढापाकाहरु पनि अहिले यो रीतलाई नाजायज मान्न थालेका छन् । ‘जीव प्राणीको हत्या गर्ने, रक्सी खाएर झगडा गर्ने राम्रो कुरा हैन,’ घोराहीकी खिरटिया चौधरीले भनिन् ‘धर्म गर्ने भनेर पाप गर्नु पनि राम्रो होला त ?’ उनी आफै मदिराकी भोगी हुन् । माछा मासुको सौखीन उत्तिकै । माघी पर्व आयो भने मदिरा सेवन गरेर गाउँ हिड्ने महिला समूहकी नाइके नै हुन्थिन् उनी । उनले भनिन् ‘माघीमा त मेरो जती जाँड कस्ले खाँदो हो? त्यस्तरी खाने त राम्रो हैन रैछ, पछि थाहा भयो ।’ मदिरा सेवन उनलाई नराम्रो त्यति बेला लाग्यो जतिबेला उनको पेट नराम्ररी दुख्न थाल्यो । अनि उनलाई लाग्यो ‘यो रक्सीकै बेफाइदा हो ।’ बस्तीमा गुरुदेव अभियान फैलदै थियो । धमाधम गाउँलेहरु शाकाहारी बनिरहेका थिए । उनि पनि त्यही बेला यही अभियानमा लागिन् ।
अहिले जिल्लाका अधिक थारु बस्तीमा शाकाहारी बन्नेहरुको बाहुल्यता बढ्नसमेत थालिसकेको छ । मुख्यतः देउखुरीका थारु बस्तीहरुमा ‘जय गुरुदेव’को मन्त्र व्यापक घन्किन थालेको छ ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलियाका शिक्षक श्रीराम दहित अहिले मदिरा तथा माछा मासुलाई छोइछिटो मात्रै गर्दैनन् । उनले बजारका होटेलमा परिकारसमेत खादैनन् । भन्छन् ‘माछामासु लसपस भएको हुन सक्छ ।’ माघी पर्वमा उनको घरमा माछा मासुको भतेर चल्थ्यो । जाँड रक्सीको मात उस्तै । तर अहिले उनको घरमा माछामासु र जाँड रक्सी प्रवेश हुनै पाउँदैन । ‘थारु समुदायले माछा मासु र जाँड रक्सी खानैपर्छ भन्ने पुरानो मान्यता तोडिँदै गएको छ,’उनले भने ‘अहिले मेरो घरमा खाने कुरा त परै जाओस् घरभित्र छिर्नसमेत पाउँदैन ।’ शाकाहारी अभियान जय गुरुदेवको अनुयायी बनेका उनी पुजारीसमेत बनेका छन् । धर्मान्तरका लागि सक्रिय विभिन्न धार्मिक समूहहरुले हिन्दुत्वमाथि आक्रमण गरिरहेकाले हिन्दुत्व संरक्षणका लागि उनले समय समयमा आफै रुद्री पाठ गर्ने गरेका छन् ।
माछामासु र जाँड रक्सी खानुलाई ‘जातैले पाएको’ अर्थ्याउने थारु समुदायमा मुलतःसाढे दुई दशक अघिदेखि शाकाहारी बन्ने अभियानको सुरु भएको यो अभियानका जानकारहरु बताउँछन् । कसरी सुरु भयो त ? जय गुरुदेवको शाकाहारी अभियान ? एक जना जानकार भन्छन् ‘यसको कारण थारु समुदायका एक जना बिमार हुनु हाे।’ जिल्लामा शाकाहारी अभियानको सुरुवात गर्ने गढवाका मानबहादुर चौधरी हुन् । २०५१ ताका उनी बिमारले थलिए । खुट्टा दुख्ने रोगले ग्रस्त भएका उनी उपचारका लागि भारतको तुलसीपुर बजार पुगेका थिए । उनलाई उपचार गरेका डाक्टरले छनक्कै रोग निको पार्ने अर्को उपाय सिकाई दिए, एक जना जय गुरुदेव अभियानका गुरुलाई । मानबहादुर आफ्नो रोगको निदान चाहन्थे । डा.कै सल्लाह अनुसार मानबहादुर भारतको मध्य प्रदेशस्थित उज्जयन भन्ने स्थानमा पुगे। त्यहाँ उनको जय गुरुदेवका अभियन्ता तुलसी दाससँग भेट भयो । दासले शाकाहारी अभियान राष्ट्रव्यापी पार्न चाहन्थे ।
तुलसीदासले मानबहादुरको रोगलाई ‘पापकर्म’को फल भनि टिप्पणी गरे। सँगै उनले माछामासुका लागि पशुको हत्या गर्नु र जाँड रक्सी खानुलाई महापाप भनि व्याख्या गरि दिए । यी कार्यबाट अछुतो रहे रोग निको हुने गुरुबाट सुझाव पाएका मानबहादुरले आफूले पाएको ज्ञान व्यवहारमा लागु गर्न सुरु गरेनन् मात्रै जय गुरुदेवको प्रचार प्रसारमा खटिए । ‘उहाँ (मानबहादुर) बाटै शाकाहारी अभियान दाङमा फैलिएको हो,’ यो अभियानका अर्का अगुवा रामबहादुर चौधरी भन्छन् ‘उहाँ बिरामी भएर जय गुरुदेव तुलसीदास सँग भएको भेटनै थारु समुदायमा शुद्ध शाकाहारी अभियानको सुखद सुरुवात हुनुको प्रमुख कारण नै हो ।’ तुलसी दाससँगको गुरुदेव प्रशिक्षणले आफूलाई सहज महसुुस गरेका मानबहादुरले जिल्लाका थारु समुदायमा ‘शाकाहारी माहोल’ बनाउँदै गए ।
यसैबीचमा भारतीय गुरु तुलसीप्रसाद २०५१ मा दाङको देउखुरी आए। निकै तामझामसहित दाङ आएका तुलसीदासको सत्संग कार्यक्रममा देउखुरीमा ठूलो मासले ज्ञान आर्जन गरेको थियो। तुलसीदासको जिल्ला आगमनपछि नै शाकाहारी अभियानले झनै गती लियो। ‘गुरुदेव दाङमा आएपछि एकाएक शाकाहारी अभियान फैलियो,’ यो अभियानका अगुवा रामबहादुर भन्छन् ‘अहिले थारु समुदायमा शाकाहारी बन्ने भावना असाध्यै बढ्दै गइरहेको छ।’ मानबहादुर चौधरीले २०५१ सम्म एक्लै चलाएको यो अभियानबाटै अहिलेसम्म दाङका हजारौँ थारुहरु शाकाहारी बनिसकेका छन्। यो अभियानमा लागेर शाकाहारी बनेका बीस हजारको हाराहारी संख्या मध्ये ८० प्रतिशत नागरिकहरु थारु समुदायकै नागरिकहरु छन् ।
रामबहादुर अहिले जिल्लामा शाकाहारी अभियानलाई बढावा दिने अभियानको नेतृत्व गरिरहेका छन् । अझ मुलतः थारु समुदायका नागरिकहरुलाई यसतर्फ आकर्षित गर्ने अभियानमा उनको सक्रियता बढ्दो छ । जय गुरुदेव अभियान विशुद्ध शाकाहारी अभियान हो । हिन्दु धर्मको संरक्षक यो अभियानले मुलतः मासु र जाँड रक्सी सेवन गर्नु हुन्न भन्ने सन्देश फैलाउने काम गर्छ । मासुका लागि पशु काटिनुलाई महापाप भनेर व्याख्या गर्ने यो अभियानले मासु खानुलाई स्वास्थ्यका लागि असर गर्ने भनेर सन्देश प्रवाह गर्ने गर्दछ । यसैगरि जाँड रक्सी स्वास्थ्यका लागि झनै खतरनाक भन्दै यसको नियन्त्रणमा यो अभियानले जोड दिइ रहेको छ ।
थारु समुदायमा फैलदो शाकाहारी अभियान केही परिवारमा भने घरायसी झगडा अन्त्यका लागि समेत फलदायी बनेको छ । जाँड रक्सी सेवन गरेर पारिवारिक कलह निम्तिएका कतिपय परिवारका सदस्यहरु शाकाहारी अभियानमा लागेर आफ्नो घरायसी वातावरणलाई सहज समेत बनाएका छन् । माशंहारी परिवारबाट बिहे गरेर शाकाहारी परिवारमा विवाह गरि आएका महिलाहरु पारिवारिक वातावरणमै सहजसमेत हुने गरेका छन् ।
जय गुरुदेव अभियानका अभियन्ताहरु शाकाहारी बन्नका लागि विभिन्न प्रचारात्मक कार्यक्रमहरु गर्दै आएका छन् । अहिले ‘बाबाजीका केहेना है, शाकाहारी रेहेना है,’ भन्ने नारा लिएर अभियन्ताहरु शाकाहारी अभियानको प्रचारमा छन् । गाउँ गाउँमा जय गुरुदेवको प्रशिक्षण केन्द्र खडा गरेर पनि यो अभियान अन्तर्गत प्रशिक्षण दिने गरिएको छ । यसका साथै प्रत्यक पूर्णिमामा भारतका विभिन्न स्थानमा हुने सत्संगहरुमासमेत जिल्लाका थारु समुदायको सहभागीता बढ्दो क्रममा रहेको छ ।
हरेक दुख बिमारलाई पाप कर्मकै फलका रुपमा उल्लेख गर्ने यो अभियानले पशुवली र जाँड रक्सी सेवनलाई मुख्य पापका रुपमा चिनाउँछ । यही मन्त्रले प्रभावित थारु समुदायहरुले शाकाहारी अभियान अंगालेको यसमा लागेका अधिकांशको आवाज छ । यो अभियानको धार्मिक महत्व एकथरि होला । तर थारु समुदायमा शाकाहारी अभियान चल्न सक्नु यो अभियानको ठूलो सफलता भएको यसका अगुवाहरु बताउँछन् ।
