काठमाडौँ, २९ माघ/मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ ।
त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ । हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन् । अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ । दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरैजसोको दाँतमा किरा लाग्ने गरेको छ । बच्चामा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाझ्दा किराले खाने गरेको छ ।
वीर अस्पतालका दन्तरोग विभागका प्रमुख प्रा। डा। शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँतको उपचारमा आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन् । “पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरैजसो दाँत बचाउनका लागि आउने गरेका छन्” उहाँले भन्नुभयो, “दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन ।”
अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गैने पाँच शाखा छन् । ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन् । तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा। प्रधानले बताउनुभयो । उहाँले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताउनुभयो ।
उहाँका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन । बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उहाँको भनाइ रहेको छ । दाँतको उपचार छ÷छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिनुहुन्छ ।
