केही समययता फक्रिन लागेको नेपालको खेल जगत राजनीतिकरणले ओइलाउने शंका पैदा भएको छ । पछिल्लो समय नेपालमा खेलकुद क्षेत्रभित्र विवादास्पद समाचारहरु बाहिरन थालेका छन् । जसले गर्दा खेलकुद प्रेमीहरुको खेलप्रतिको मोह कम हुन थालेको छ । खेलकुद जगतमा बेला बेला विवाद भइरहन्छ । कहिले त क्यानले खेलाडी कारबाही गरेको समाचारले स्थान पाउछ त कहिले फुटबलको सर्वोच्च निकाय एनफाका पदाधिकारीहरूको विवादले नेपाली खेल क्षेत्रको साख घढ्दो क्रममा छ ।
खेलकुदको साख घटाउने काम यतिमा मात्र रोकिदैन । कहिले नेपाली राष्ट्रिय टिमको प्रशिक्षकले राजिनामा दिन्छन् त कहिले रेफ्रिहरुले सामुहिक राजिनामा बुझाउँछन । यसरी खेल क्षेत्रलाई कमजोरो पार्ने काम निरन्तर चल्य र अहिले पनि जारी छ । यसको दोषी को वा को कति जिम्मेवार त ? अर्कोतर्फ खेलाडीहरु मैदानलाई नै आफ्नो भविष्य निर्माण गर्ने थलो बनाएर अहोरात्र खटिरहेका छन् । भोक प्यास नभनी देशका लागि ज्यान फाल्न तयार हुने खेलाडीहरुको के दोष । खेल क्षेत्रमा भइरहेकाे विकृति कसले राेक्ने ? सबै माैन छन् ।
यसको व्यवस्थापनको जिम्मेवारी सम्हालेका मै हुँ भन्नेहरु देख्दा अचम्म लाग्छ । अन्तरिक कलहलाई लिएर कतिपय खेलकुद व्यवस्थापन कै उच्चपदस्थ व्यक्तिहरु नै बढी विवादमा परेका छन् । यस्तो हुनुमा जिम्मेवार निकायमा बसेका व्यक्तिहरु नै मुख्य दोषि मानिन्छन्। खेलकुद क्षेत्र सुधार गर्न जिम्मेवार पाएका व्यत्तिहरु राजनीतिकरणमा हावी हुदा र गैर जिम्मेवार बन्दा आज खेल जगत फोहोरी भएको छ। यहाँ सबैले आफ्नै मनपरि गरेको पाइन्छ। खेलकुदको संस्थाको प्रतिनिधित्व गरेको व्यक्तिले समेत खेलाडीको हकहितमा काम गरेको पाइदैन। त्यस्ता व्यक्तिले सोच विचार गरेर राम्रो नीति नियम बनाई खेलाडीहरुको हकहितका लागि आवाज उठाउनुको सट्टा आफै नै सक्रिय राजनितीमा लाग्नु र उक्त क्षेत्रलाई फोहोरी गर्ने थलो बनाउने काम गर्नु कत्तिको जायज होला र बरु खुलेरै संस्था भन्दा बाहिर आएर राजनीतिमा सक्रिय भएर लागे राम्रो होला ।
अहिलेको परिप्रेक्ष्यमा नेपालमा राजनीति गर्न त्यति गाह्रो छैन । कुनै नाम चलेको नेताको ज्यू हजुरी गरेपछि पक्कै केही समयमा कुनै न कुनै पद त पाइहालिन्छ होला नि । खुला राजनीति गर्ने ठाउँ नभएको पनि होइन । किन संस्थाभित्र बसेर संस्थाको बदनाम गर्नु ? यसो भन्नुको अर्थ संस्थामा बसेर राजनीतिक विचार नै राख्न पाउदैन भन्ने पनि होइन । तर राजनीतिमा आस्था सबैले राख्छन राख्नु पनि पर्छ विचार मिल्नेहरु एकजुट हुनु पनि पर्छ तर खेलकुदको जस्तो गौरवशाली संस्थामा बसेर गुट उपगुट बनाउन आवश्यक छ र ?
के एनफा र क्यानजस्ता खेलकुदसँग सम्बन्धित संस्थालाई कुनै राजनीतिक दलको भातृ संगठनको अखडा बनाइनु उचित हो र ? जनताले तपाईहरुलाई धेरै विश्वास गरेका छन् विश्वास गरेरै आज तपाईहरु त्यस स्थानमा हुनुहुन्छ त्यो बिर्सनु भयो ? त्यो स्थान मा पुगेपछि गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारी के हो ? त्यो पनि हामीले सम्झाइ राख्नुपर्छ र ? यदि पर्छ भने त्यो दुखद पक्ष हो । सोच्नुस त एक पटक तपाईंहरूको यस्तो गतिविधिले हाम्राे खेल क्षेत्रकाे भविष्य के हुने । हामीबाट आउने पुस्ताले के पाठ सिक्ने? अब आउने पुस्ताका लागि भएपनि खेलकुदकाे साख जाेगाइ राख्न जरूरी छ । कति वर्षको कार्यकालमा के के प्रगति गर्नुभयो भनेर कसैले सोधिहाले भने के जवाफ दिनुहुन्छ ? छ तपाईहरुसँग जवाफ ।
अहिले नेपाली खेलकुदको अवस्था र खेलाडीहरुको अवस्था कस्तो छ ? तपाईंहरूसँग अलिकति सोच्ने फुर्सद छ, कि राजनीतिक दलको साधारणसभादेखि स्थानीय खेल प्रेमीले आफै पैसा जुटाएर आयोजना गरेका खेलकुद प्रतियोगिताका कार्यक्रममा गएर रिवन काट्न मै व्यस्त भइराख्ने हो ? जिल्ला जिल्लामा भ्रमण गरेर मात्रै खेलकुदको विकास त हुदैन होला नि । वर्षमा एउटा दुई वटा कार्यक्रम गरेर मात्रै विकास हुने भए नेपालले धेरै पहिले खेलकुदमा फड्को मारिसकेको हुन्थ्यो । तर त्यसो हुन सकेन । किनकी खेलकुद क्षेत्रमा प्रत्यक्ष राजनीति हावी भएको छ । जसको प्रत्यक्ष असर खेलकुद क्षेत्रको विकास र खेलाडीमा परेको छ ।
यहाँ न त खेलकुदको विकास भएको छ न त खेलाडीलाई प्रोत्साहन गर्ने काम नै भएको छ। आज म नजिक बाट खेललाई नियाल्दैछु । बाहिरबाट देखेजस्तो सजिलो र सहज छैन रहेछ । नेपाली खेल क्षेत्रलाई सुधार गर्न निक्कै कसरत गर्नुपर्ने देखिन्छ । लुम्बिनी प्रदेश फुटबल संघमा आवद्ध हुदै गर्दा आज मलाई भन्न पनि लाज लाग्न थालेको छ । कि म यस संस्थामा आवद्ध भएकाे छ । कसैले पनि राम्रो कुरा गरेको सुनिदैन । कहिले खेलाडीहरूले पुरस्कार नपाएको खबर सुनिन्छ त कहिले खेलाडी घाइते हुँदा आफ्नै पैसा खर्च गरेर विदेश उपचार गर्न गएको ? किन यस्तो अवस्था आयो । यसको जवाफ सायद कसैसँग पनि छैन ।
खासगरी भन्ने हो भने काम गर्न यहाँ गाह्रो छैन । काम गर्न नचाहिएको मात्र हो । चाकडी र आफ्नालाई भर्ना गर्ने भर्ती केन्द्र बनाइएकाले काम हुन नसकेको मात्र हो । काम गर्नलाई त यहाँ कसैले पाे रोकेकाे छ र यहाँ त सरकार पनि हुदैन न त प्रतिपक्ष नै हुन्छ । यहाँ खेलसँग सम्बन्धित थुप्रै संस्थाहरू पनि छन् । फिफा, एएफसी र आइसीसी जस्ता आईएनजिओले थुपार्दिएको बजेटलाई सही सदुपयोग गरे मात्रै पनि भैहाल्छ, त्यति गर्न पनि किन नसक्ने ?
देश संघीयतामा गइसकेपछि स्थापना भएका प्रदेश जिल्ला समिति छन् । स्पष्ट रुपमा निति निर्माण गरेर निर्देशन दिन पनि सकिन्छ । संघीय राज्य निर्माण भएसँगै अहिले काम गर्न पनि सहज छ तर यहाँ भागबन्डा नमिलेर कतिपय प्रदेश, जिल्ला समितिहरुमा न कुनै बजेट छ, न कुनै निति न कुनै कार्यक्रम नै छ । यस्तो अन्योलतामा कसरी काम गर्ने ? जताततै अस्त व्यस्त मात्र छ । याे अस्त व्यस्ततालाई व्यवस्थित बनाउनकाे लागि तपाई सच्चिनै पर्छ । समय छ, सच्चिनुस नेतृत्वमा भएका अग्रजहरु समयमै नसच्चिए दिन धेरै टाढा पनि छैन । विचार गरौं, नेपाली खेलाडीलाई माया गरौं र खेलकुदको विकासको लागि सबै जना एकजुट हौ । जय खेलकुद ।
लेखक लुम्बिनी प्रदेश फुटबल संघका सह-महासचिव हुन्
समिर ओली
