काठमाडौं,५ माघ । बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रुपमा हडप्न खोज्ने कुमार रेग्मी (सर्वोच्च अदालतका न्यायाधीश) र नवीन पौडेल (नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा) लाई कानूनी कारवाही गर्न माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिदै रेग्मी र पौडेललाई कारवाही गर्न माग गरेको हो । ललिता निवासको जग्गा न्यायाधीश रेग्मी र पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनले आफ्नो नाममा पास गराई अख्यिारमा बयान दिएर पछि फिर्ता गरेपछि आयोगले उनीहरुमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
वालुवाटार, ललिता निवास भित्र पर्ने सरकारी जग्गा हिनामिना गर्ने व्यक्ति कुमार रेग्मी र नविन पौडेललाई गैरकानूनी रुपमा जग्गा फिर्ताको वहाना बनाएर उन्मुक्ति दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई युवा संघ नेपालले गम्भिर रुपमा लिएको जनाएको छ । यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निश्पक्ष, न्यायिक निश्कर्ष र निर्णय नभएको तथा यसमा गम्भिर तोडमोड भएको संघले आरोप लगाएको छ ।
सरकारी जग्गा गैर कानूनी रुपमा आफनो नाममा लिएका व्यक्ति सर्वोच्च अदालतको न्यायाधीश बनेको तितो यथार्थले विधिको शासन धरमराएको निष्कर्ष युवा संघको छ । व्यक्ति विशेषलाई सजायबाट उन्मुक्ति दिने आयोगको निर्णयले प्रष्टरुपमा कानूनको दुरुपयोग भएकोे संघका अध्यक्ष नरेश शाहीले बताए ।
गैरकानुनी र अनियमित ढंगले सरकारी ललिता निवास क्याम्पको जग्गा अतिक्रमित गरि भोगचलन गरेको र पछि सो विषय सार्वजनिक भएपछिको अवस्थामा जग्गा फिर्ता गरि कानुनी कारवाहीवाट उन्मुक्ति पाउने कुरा कदापी स्वीकार्य र न्यायिक हुन नसक्ने संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईले बताए ।
