काठमाडौं, ६ पुस । आइसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि पुरुष राष्ट्रिय टोलीमा लोकश र विवेक पहिलो पटक समावेश हुँदा सोमपाल र विनोद बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोलीमा तीब्र गतिका बलर सोमपाल कामी र विकेटकिपर ब्याटर विनोद भण्डारी बाहिरिएका छन्। त्यस्तै लोकेश बम र विवेक यादव पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएका छन्। क्यानले बिहीबार सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
ओमानमा फेब्रुअरी १७ देखि २४ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यस समुहमा रहने शिर्ष दुई टोलिले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्। छनोट खेलमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, युएई, आयरल्याण्ड, बहराईन र जर्मनी रहेका छन्।
नेपाली टोलीमा कप्तान सन्दिप लामिछाने , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी,कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव र लोकेश बम रहेका छन्।
