काठमाडौं, ६ माघ । नेपाल पत्रकार महासंघले पत्रकार एलवी विश्वकर्माको निधन भएको घटना सम्बन्धी अध्ययन गर्ने भएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार बिश्वकर्मा निधनको घटना रहस्यमयी देखिएकाले महासंघले घटनाबारे अध्ययन गरिने बताए।
काठमाडौंको एक टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो। सहज उपचार अभावमा विश्वकर्माको निधन भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै पोख्रेलले घटनाबारे सुक्ष्म अध्ययन गरिने बताए। उनले भने ‘स्वास्थ्य संस्थामा सहज उपचारको प्रबन्ध नहुनु र बिरामीसँग उपचार रकमको अभाव हुँदा परिक्षण समेत नहुनु दुःखद र गम्भीर विषय हो।’
संञ्चार संस्थामा कार्यरत पत्रकार बिरामी पर्दा उसको उपचारको जिम्मा सम्बन्धित संचारसंस्थाले लिनु पर्नेमा त्यसो नभएको देखिएको पनि पोख्रेलले बताए। ‘एउटा संचार संस्थामा कार्यरत पत्रकार बिरामी पर्दा सम्बन्धित संचार संस्थाले उपचारको किन जिम्मा लिन सकेन ? यो अर्को अध्ययनको विषय हो,’ पोख्रेलले भने ।
मृतक पत्रकार विश्वकर्माले आफूले काम गरेका संचारसंस्थाहरूवाट आफ्नो तलव सुविधा समेत नपाएको बुझिएको छ। ‘यो विषयलाई महासंघले गम्भीरतापूर्वक लिएको छ’ पोख्रेलले भने, ‘पारिश्रमिक नदिने संस्थाले उन्मुक्ति पाउने कुरै हुँदैन ।’
