एजेन्सी, १८ माघ । विश्वका आधुनिक र विकसित राष्ट्रको नाम लिँदा अमेरिकाको नाम सुरुमा आउँछ । तर अमेरिकामै अमिश समुदाय भन्ने एउटा यस्तो समुुदाय छ जसको बारेमा सुन्दा अचम्म लाग्न सक्छ।
अमेरिको कानूनले नै विषेश आरक्षण गरेको अमेरिकाको अमिश समुदायको इतिहास लामो छ। तर त्यो समुदायका मानिसहरु अझै गाडी चड्दैनन्, बिजुली बाल्दैनन् र महिलाले गहनासमेत लगाउदैनन्। दक्षिण जर्मन र स्वीजरल्याण्डलाई यो समुदायको उद्गम स्थल मानिन्छ । त्यस्तै यो समुदायले बोल्ने भाषालाई ‘पेन्सिल्वेनिया इच’ भनिन्छ।

शहरी क्षेत्रबाट टाढा बस्न रुचाउने यी समुदायको मुख्य पेशा खेतिपाति र पशुपालन रहेको छ। यो समुदाय ओहायो, इन्डिया, आयोवा, इलिनोइस, कान्सास, विस्काँन्सिन, मेन, मिसौरी र मिनेसोटामा फैलिएको छ। सन् १९२० मा यो समुदायको जनसंख्या करिव पाँच हजार थियो । तर पछिल्लो जनगणनाअनुसार अमिश समुदायको जनसंख्या तीन लाख नाघेको छ। अमिश समुदायले अरुले चलाएको गाडी चढ्दैनन्। याीनीहरुले यातायातको साधनको रुपमा घोडा र बग्गी प्रयोग गर्छन्। धेरैजसो अमिश समुदायले गाडी स्वामित्वमा लिदैनन्।

यीनीहरुले विद्युत प्रयोग गर्दैनन्। त्यस्तै, पाइपबाट ल्याइएको ग्यास प्रयोग गर्दैनन्। यो समुदायमा स्वचालित फार्म मेसिनरीको प्रयोग, टेलिभिजन, रेडियो र कम्प्युरको स्वामित्व, कलेज र हाई स्कुलमा भाग लिन, सेनामा भर्ना हुन र सम्बन्ध विच्छेद गर्न निषेध छ । तस्बिरहरु खिच्नसमेत प्रतिबन्ध छ।
अमिशका बच्चाहरु आफ्नै समुदायले सञ्चालन गरेका स्कूलमा मात्र पढ्छन्। आठ कक्षा पढेपछि उनीहरुको पढाइ पूरा हुन्छ र त्यसपछि उनीहरु सिकर्मी, पशुपालन र खेतीपातिमा लाग्छन्। १४ वर्षको उमेरमा उनीहरुको विद्यालय अन्त्य गर्ने अधिकार सर्वोच्च अदालतले दिएको छ।

अमिश समुदायले कालो र सेतो कपडा लगाउछन्। बेल्क्रो र जिप्पर उनीहरुको लागि प्रतिबन्धित छ। त्यहाँ जुँगा पाल्न प्रतिबन्धित छ। पुरुषहरु विवाह गरेपछि मात्र दाह्री पाल्छन्। अमिशका महिलाहरु कहिल्यै कपाल काट्दैनन्। उनीहरु तलदेखि माथिसम्म पूरा जीउ ढाकेर कपडा लगाउँछन्। अमिश समुदायका महिलाहरुलाई कुनै प्रकारको गहना लगाउन अनुमति छैन।
अमिश समुदायमा सामाजिक जिवनको सबै भन्दा रोचक विषय भने डेटिङ्ग (रुमस्प्रिङगा) हो जसको अर्थ निर्वाध रुपमा भेटघाट गर्न पाउने हो। १६ देखि २१ वर्षका मन मिल्ने युवा युवती रुमस्प्रिङगामा बस्छन् र मन मिलेको खण्डमा उनीहरु विवाह पनि गर्छन्। उनीहरु आफूले छानेको जोडी लिएर चर्चमा गएर विवाह गर्छन्।

भलिबल र सफ्टबल अमिश समुदायमा बढी लोकप्रिय खेल हो। उनीहरु रमाइलोको लागि यो खेल खेल्छन्। अमिशहरुको घर चिटिक्क हुन्छ । उनीहरुको घरमा धुरी, पालि र पिडी अनिवार्य हुन्छ।
अमिश समुदाय राज्य वा राष्ट्रिय राजनीतिमा संलग्न छैनन्। उनीहरु शान्तिवादी रुपमा रहन चाहान्छन्। उनीहरु प्राय आफ्नै समुदायबाट आफ्ना आवश्यक्ता पुरा गर्छन्। उनीहरु बाँकी समुदायबाट अलग नै रहने प्रयास गर्छन्। उनीहरुका सांस्कृतिक भिन्नताहरु महत्वपूर्ण छन् जसका कारण एक समूहका सदस्यहरु अर्को समुहमा जान सहज महसुस गर्दैनन्।


