एजेन्सी, १९ माघ । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो।
गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन् ।
प्रधानमन्त्री सियाओसी सोभालेनीले दुई जनामा संक्रमण देखिएको बताए । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् ।
कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको र घरेलु उडान नहुने जानाकारी दिँदै प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हरेक दुई दिनमा अवस्थाको समिक्षा गरिने प्रधानमन्त्रीले बताए ।
गत महिना गएको शक्शिाली ज्वालामुखीपछिको सुनामीले प्रभावित टोंगालाई चीन, फ्रान्स, अमेरिका, न्युजिल्यान्ड, फिजी बेलायतले सहयोग गरेका छन् । पिउने पानीसहित अत्यावश्यक मेडिकल सामाग्री बोकेका पानी जहाज बन्दरगाह सहर पुगेका छन् ।
