घोराही २९ वैशाख/ दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
‘बञ्चरो प्रहार गरी दुई जना महिलाको हत्या भएको र हत्यामा संलग्न एक व्यक्ति हाम्रो नियन्त्रणमा लिएको उनले बताए । एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए । हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले जानकारी दिए । हत्याको कारण भने पत्ता लागेको छैन ।
घटना बारे थप अनुसन्धान भइरहेको छ । उनका अनुसार दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् । उनी पेसाले अटो चालक हुन्।
