संस्मरण
माघ २६ : उमेश दाइ ‘ढलेको’ त्यो दिन...  

माघ २६ : उमेश दाइ ‘ढलेको’ त्यो दिन...  


  • 13.8K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 21.2K Views

    माघ २६ : उमेश दाइ ‘ढलेको’ त्यो दिन...  

    राजाले २०६१ माघ १९ मा प्रत्यक्ष शासन सुरु गरेपछि देशभर आन्दोलन भैरहेको थियो। एक्लाएक्लै आन्दोलन गरीरहेका दलहरुको सात दलीय मोर्चा बनिसकेको थियो। अझ २०६२ मंसिर ३ गते माओवादी र ७ दलबीच  १२ बुँदे समझदारी भएपछि आन्दोलनले उचाइ लिँदै थियो । यत्तिकैमा राजाले नगरपालिकाको निर्वाचन घोषणा गरे। मिति तोकियो २०६२ माघ २६ गते ।

    images

    नगर निर्वाचनको विरोध गर्दै दाङको घोराहीमा सात दलले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए। माघ १७ गते महिला र्‍यालीमा महिलाको अत्याधिक सहभागिता र १८ गतेको युवाहरूको मोटरसाइकल र्‍यालीमा अत्याधिक सहभागिता भएपछि दलका कार्यक्रमहरू रोक लगाउने कुरा सुरक्षाकर्मीबाट भएको थियो।

    म त्यतिबेला ‘पापड’को सदस्य सचिव थिए। पापडको जुलुसमा पनि हस्तक्षेप गरी पापड बाहेकका अन्य सहभागीहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए। यसै क्रममा २०६२ माघ २६ गते मध्यान्ह १२ बजे घोराहीको ‘कटरबुट्टा’ (हाल विपी चोक) बाट शान्तिपूर्ण जुलूस निकालिएको थियो। सो अस्पताल रोड, गणेश मन्दिर रोड, दामोदर चोक हुँदै तुलसीपुर चोक पुग्ने बेला प्रहरी निरीक्षक दीपक पोखरेलको नेतृत्वमा आएको सुरक्षाबलको भ्यानले जुलुसलाई रोक्ने प्रयास गरेपछि दुई पक्षीय तनाव भएको थियो ।

    Screenshot_20220208-095334_Facebook.jpg तस्बिर : उमेचन्द्र थापाकाे श्रदाञ्जली सभा

    माघ २६ गते सुरक्षाकर्मीहरूले जहाँ रोक्छन् त्यहीँ कोणसभा गर्ने कार्यक्रम बनाएका थिए। तुलसीपुर चोकमा जुलुस आएपछि सुरक्षाकर्मीहरूले रोके र लाठी चार्ज गरे म त्यहीँ बसेर हेरिरहेको थिएँ। गोली चल्नु अगाडि सुरक्षाकर्मीहरूले घरको छतमा बसिरहेका ६४ वर्षसम्मका महिलाहरूमाथि समेत ढुंगा प्रहार गरे। पर्यवेक्षकको हैसियतले मैले ढुंगा नहान्न आग्रह गरेपछि स्वयं मलाई मार्ने धम्की दिए। त्यसबीचमा प्रहरी निरीक्षकले भने आफ्ना जवानहरूलाई जथाभावी नगर्न अह्राएका थिए। तर सुरक्षाफौज कमाण्ड भन्दा बाहिर गएको देखिन्थ्यो। सोही काममा सुरक्षाकर्मीले निर्ममता पूर्वक लाठी प्रहार गरी ११ जना नेता कार्यकर्ताहरुलाई घाइते तुल्याए।

    उक्त झडपपछि तितरबितर भएका नेता–कार्यकर्ताहरूले मध्याह्न करिब साढे १२ बजे जिविस चोक (हालको सहिदगेट)मा पुगि पुनः कोणसभा सुरु गरे । तितरबितर भएको समूहका करिब २०–२५ जनाको प्रदर्शनकारीहरू ‘सुपरलज’ रोडतर्फ लागे । यसैबीच ट्रक र जिपमा आएको संयुक्त सुरक्षा बलले एक्कासी गोली प्रहार गर्यो । सुरक्षाफौजले झण्डै ५०–६० राउण्ड गोली चलाएर  सो स्थानमा अन्धाधुन्ध प्रहार गरे।  सोही क्रममा नेकपा (एमाले) का कार्यकर्ता उमेशचन्द्र थापाको सुरक्षाकर्मीको गोलीबाट घटनास्थलमै मृत्यु भयो भने नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दाङ जिल्लाको धर्ना गाविसका ५५ वर्षीय कृष्ण गिरी घाइते भए । घाइते गिरीको छाति र खुट्टामा गोली लागेको  थियो ।

    Screenshot_20220208-095220_Facebook.jpg तस्बिर : घाइते कृष्ण गिरी

    घटनाको लगत्तै करिब १० मिनेटमा सुरक्षाकर्मीहरूले घटनास्थलबाट मृतक र घाइतेलाई उठाएर आफ्नै गाडीमा राखी महेन्द्र अस्पताल (हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान)  पुराए। गोली चल्दा म क्यामराको ब्याट्री लिन दामोदर चोकको सौर्य फोटो स्टुडियोमा गएँ । त्यताबाट तुलसीपुर चोक हुँदै जिविस चोक फर्किएँ। चोकमा थिए विपुल पोख्रेल (हाल पत्रकार महासंघका अध्यक्ष) हामी त्यहाँबाट हाम्रो कार्यस्थल स्वर्गद्वारी एफएम आयाैं।

    हामी पुगे लगत्तै विष्णु लामिछाने (तात्कालीन स्ववियु सभापति महेन्द्र बहुमुखी क्याम्पस) र  रमेश पाण्डे (हालका वडा नं १५ का अध्यक्ष) आइपुगे रमेशको हातबाट रगत बगिरहेको थियो। विष्णु निकै आत्तिएका थिए। एकछिन सुस्ताएपछी समूहले भने उमेश दाइ छैनन् मैले पछाडी फर्केर हेर्दा उनको शरीर छिया छिया थियो। मनले मानेन विपुल र म अस्पताल गयाैंभित्र जान दिइएन। कालिका मेडिकल हलको मथिल्लो छतमा गयाैं त्यहाँबाट पनि केही मेसो पाउन सकिएन। त्यतिकैमा जितबहादुर केसी भित्रबाट आए र उमेशचन्द्र थापा हुनुहुन्न भन्न थाले।

    मैले नजिकै रहेका किशोर चन्द्र गौतमसँग भने ‘धन्न भगवान उमेश दाइ रैनछन् त्यसो भए को हो त त? किशोरले झपारे, के भन्छ पागल हुनुहुन्न भनेको, गैसके भनेको हो।’ शरीर चिसो भयो। उमेश दाइले प्रेस संचालन गर्ने भएकाले छापामा आउने जाने क्रममा आत्मीयता बढेको थियो। अझ आन्दोलनको क्रममा सँगै थिएँ। नरमाइलो लाग्यो। र हामी स्वर्गदारी एफ एममा फर्कियाैँ। फर्कदा म, विपुल पोख्रेल र कृष्ण गिरीको छोरा सैनिक ब्यारेकमा गयौं ।  नाम नखुलेका मेजरले ६ बजे टेलिफोन खुलेपछि मात्र भेट्न सकिने बताए। तर पनि घाइते गिरीलाई भेट्न नदिई उपचारका लागि सेनाले हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो।

    विपुल र मैले सल्लाह गर्याै ‘यो घटनाको राष्ट्रियकरण गर्नुपर्छ ।’ स्थानीय प्रशासनले तुलसीपुर र घोराही क्षेत्रमा टेलिफोन बन्द गराएको थियो । सञ्चारमाध्यमहरुमा सेनाको पहरा हुन्थ्यो। सरकारी मिडियाले घोराहीको घटनाबारे समाचार बजाउने कुरै थिएन। अन्य ठाउँमा समाचार पठाउन अहिले जस्तो इमेल इन्टरनेट थिएन। सामाजिक सञ्जालको प्रचलन थिएन। हस्तिलिखित सामाग्री फ्याक्स गर्नु पर्दथ्यो ।

    हामीले घटनालाई कसरी राष्ट्रियकरण गर्न सकिन्छ भन्ने बारेमा सल्लाह गरेर समाचार तयार पार्यौ। तुलसीपुर र घोराहीमा टेलिफोन सेवा काटिएको भएपनि लमहीमा काटिएको छैन भन्ने हामीलाइ थाहथियो तर, कसरी र कहाँबाट त्यो समाचार फ्याक्स गर्ने ? अन्यौल सृजना भयो। त्यहीँबीचमा घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका पत्रकार  दामोदर अधिकारी (कोरोनाका कारण गतवर्ष उनको निधन भयो) स्वर्गद्धारी एफएम आए। हाम्रो बीचमा समाचार कहाँ बाट र कसरी केन्द्रसम्म पुर्‍याउने भन्ने छलफल चलिरहेको सुनेपछि अधिकारीले समाचार लगेर आफु साईकलमा लमही जाने दृढता व्यक्त गरे । उनले ‘दाइ म लमहीसम्म जसरी पनि पुर्‍याउँछु’ भने । हामीले उनलाई कसरी पुर्‍याउछौ भनेर सोध्यौं ? साधन छैन, सेनाको गस्ति छ ।  अधिकारीले जवाफ दिए– दाइ म साईकलवाट जान्छु , हाप पाइन्ट लगाएको छु । सेनाले सोध्यो भने मजदुरी गरेर फर्केको भन्छु।’

    हामीलाइ सन्तोष मिल्यो सवै राष्ट्रिय संचारमाध्यममा र बीवीसीको नेपाल स्टुडियोसम्म पुर्‍याउने लक्षसहित सवै फ्याक्स नम्वर खोजेर तयार गरेर उनको जिम्मा दियौँ ।

    अधिकारी एटलस साईकल लिएर आए । त्यही साईकलको सिट मुनि समाचार लुकाउन कोचेर राखे । एक्लै साईकल लिएर निस्किए । घोराहीदेखि २४ किलोमिटर टाढा अजंगका पहाड र उकाली ओराली छिचोल्दै लमही पुगे । लमही आउन जान उनले झन्डै ५० किलोमिटर बढीको यात्रा सामान्य साईकलमै गरे । उनी सेनाको राईफल छिचोल्दै काम फत्ते गरेर सोही दिन राति घर फर्किए । 

    हामीलाइ पृयदाइ उमेशचन्द्र थापा गुमाउनुको पिडाले जिन्दगीभर पोलीरहन्छ तर पनी एउटा कुराले सन्तोष लाग्छ हामीले पत्रकार दामोदर अधिकारीको सहयोगले समयमै सत्य सुचना सार्वजनिक गरेर “वुथ लुट्न आएका आतङ्ककारीको गोलीलागेर मृत्यु भएको” भन्ने  प्रशासनले फैलाउन खोजेको गलत सुचनाको खण्डन गर्न आफ्नो कर्तव्य पुरा गर्यौ।

    को हुन् उमेश ?

    उमेशचन्द्र थापा प्युठानमा जन्मिएका थिए। विसं २०१२ असोज १० गते उनको जन्मदिन हो। आमा फनिदेवी थापा र बुबा भोजबहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मिएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हुँदै आएका थिए।

    सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो। प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आएका थिए। उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शुरु गरेका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेका थिए।

    प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरेका थिए। कम्युनिष्ट घटकको रुपमा उनले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्था समेत कमजोर थियो। तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेको नेकपा दाङका नेता टीकाराम खड्काले बताए। उनी भन्छन्, ‘उहाँले विद्यार्थी राजनीतिमा पुर्‍याएको योगदान अहिले पनि स्मरणीय छ।’

    विसं २०३५–३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उनका समकक्षीहरु बताउँछन्। थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महिना जेल जीवन समेत भोग्न बाध्य भएका थिए। थापाले नगर कमिटी सदस्य समेत भएर काम गरेका थिए। उनको आफ्नै प्रेस थियो।

    प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्थे। थापाले विवाह प्युठानबाटै गरे। विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरेका थिए। विसं २०४१ फागुन २२ गते उनको मागी विवाह भएकोे हो।

     

  • सम्बन्धित विषय:

  • # सुदिप गाैतम

  • तेस्रो आँखा