काठमाडौं, २६ माघ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत रबि शंकर पासवानको दुई गोलमा विभागिय टिम नेपाल पुलिस क्लबले च्यासलविरुद्ध जित हात पारको छ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले च्यासलविरुद्ध दुई एक गोल अन्तरको जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा रबि पासवानले खेलको ३७ औं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ५३ औं मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा फर्काए। खेलको ७० औं मिनेटमा पुन रबि पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दुई एक को जित दिलाए। यस जित सँगै पुलिसले नो खेलबाट १० अंक जोड्दै तालिकाको १० औं स्थानमा उक्लिएको छ।
च्यासल भने ९ खेलमा पाँच अंक जोडेर तालिकाको १३ औं स्थानमा बसेको छ। आज भएको यी दुई टोलीबीचको खेल यसअघि च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएकोले स्थगित गरिएको थियो।
लिगका १० औं चरणका खेलहरु भने यहीँ शुक्रबारबाट सञ्चालनमा आउने एन्फाले जानकारी गराएको छ। मंगलबार एन्फाले लिगको बाँकी रहेको सबै चरणको तालिका सार्वजनिक गरेर १० औं चरणका खेलहरु शुक्रबारबाट हुने जनाएको थियो।
