एजेन्सी । अहिले पाकिस्तानमा गर्भवती महिलाको टाउकोमा कीला ठोकेको आरोप लागेका व्यक्तिको खोजी भैरहेको छ।
छोरा पाउने भन्दै उक्त विश्वासमा झारफुक गर्ने मान्छेबाट एक महिलाको टाउकोमा दुई इन्चको कीला ठोकीएको थियो। ती महिला तीन महिनाको गर्भवती थिइन्।
तीनवटा छोरी भएकी उनी चौथो पनि छोरी नै भए श्रीमान्ले छोडिदिने धम्की दिएकोले झारफुक गर्ने व्यक्तिकोमा गएकी थिइन्। सुरुमा चिकित्सकहरुसँग बताउन नमाने पनि उनले झारफुक गर्ने व्यक्तिले छोरा जन्माउन पक्का हुने दाबी गर्दै टाउकोमा कीला ठोकेको स्वीकारेकी छिन्।
घाउको एक्स–रे गरिएका तस्बिरहरु अनलाईनमा देखापरेपछि प्रहरीले अनुसन्धान थालेको छ। लेडी रिडिङ अस्पतालमा कार्यरत डाक्टर हेइदर खानले ती महिला उपचारको खोजीमा अस्पताल आइपुग्दा पूर्ण रुपमा चेतमै रहे पनि असाध्यै पीडामा रहेको बताइन्।
स्थानीय पत्रिकासँग अस्पतालका कर्मचारीले बताए अनुसार ती महिलाले झारफुक गर्ने मान्छेबारे छिमेकीबाट सुनेपछि उक्त व्यक्तिलाई उनले भेटेकी थिइन्।
दक्षिण एसियाली केही गरिब देशहरुमा छोरीले भन्दा छोराले दिर्घकालीन आर्थिक सुरक्षा दिने ठानिन्छ। यस्तो मान्यताले तथाकथित झारफुक गर्ने शोषित अभ्यासहरुलाई बढावा दिएको छ।

पाकिस्तानका केही भागहरुमा झारफुक गर्नेहरु तुलनात्मक रुपमा धेरै भेटिन्छन् र खासगरि उत्तर–पश्चिम क्षेत्रमा यो सामान्य विषय मानिन्छ । त्यस क्षेत्रमा झारफुक गर्नेहरुको अभ्यास सुफी पन्थमा प्रचलित लोक कनहरुमा आधारित हुने गर्छन् जसलाई कतैकतै इस्लामिक धार्मिक आस्थाको एक प्रकार पनि भन्ने गरिन्छ। तर यस्ता विचारधार थुप्रै इस्लामावादी विचारधारामा प्रतिबन्धित छन्।
मंगलबार ट्वीट जारी गर्दै पेशावरका प्रहरी प्रमुख अब्बास अहसानले एकजना निर्दोष महिलाको जीवनमाथि खेलबाड गर्ने र छोरा जन्माउने झुटो बाचा गरेर टाउकोमा कीला ठोक्ने त्यस्तो झारफुक गर्नेलाई न्यायको कठघरामा ल्याउन एउटा विशेष अनुसन्धान टोली बनाइएको बताएका छन्। प्रहरीले अस्पतालका कर्मचारीहरुसँग अन्तर्वार्ता गरेर थुप्रै दिनहरु बिताइसकेको छ।
अस्पतालमा उपचार गरिरहेकी ती महिलाको टाउकोबाट कीला निकालिएको छ र उनले झारफुक गर्ने मानिसको पहिचानमा मद्दत गर्ने आशा व्यक्त गरिएको छ।
बीबीसी
