काठमाडौं, २८ माघ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीले एक एकको बराबरी खेलेका छन् ।
शुक्रबार दशरथ रंगशालामा भएको दशौं चरणको दोस्रो खेलमा आर्मी र जावलाखेलले एक एक गोलको बराबरी खेलेका हुन् ।
जावलाखेल युथ क्लबका लागि अङ्कुमा जुनीयरले खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आर्मीको लागि भने खेलको इन्जरी समयमा सुमन अर्यालले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।
आर्मीको यो बराबरीले उपाधि होडमा केही धक्का लागे पनि आशा भने अझै बाँकी रहेको छ ।
शुक्रबार नै भएको दशौं चरणको र आजको पहिलो खेलमा फ्रेन्ड्स क्लबले बिबिसी क्लबलाई पाँच दुईको गोल अन्तरले पराजित गरेको थियो ।
