भरत विश्वकर्मा,रोल्पा ६ साउन/ रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेवाङकी सम्झना घर्तिको १६ वर्षको उमेरमा विवाह भयो । उनको विवाह रोल्पाकै रोल्पा नगरपालिका ३ खुमेलका तेजेन्द्र घर्तिमगर सँग भयो । सानै उमेरमा विवाह गरेकी सम्झना धेरै कुरामा अनविज्ञ थिइन । नत उनी धेरै कक्षा पढेकी नै थिइन् ।
१६ वर्षकै कलिलो उमेरमा वैवाहिक वन्धनमा बाढिएकी सम्झनाको जिवनमा विवाह गरेको ५ वर्ष नबित्दै ठुलो बज्रपात आयो । विवाह गरेको ५ वर्षमा अर्थात ०७२ साल असार १२ गते उनको श्रीमानको दुवै मृगौला फेल भएको कारण मुत्यु भयो । श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी सम्झनाको जिवनमा वर्षदिन पनि नपुग्दै उनको जिवनमा अर्को बज्रपात आयो । ०७२ मंसिर ३ मा उनको ४ वर्षिय छोरा सन्तोष घर्तिमगरको पनि मुत्यु भयो । श्रीमानको मृत्यु भएको वर्षदिन पनि नपुग्दै उनको जिवनमा भएका यो घटनाले उनी धेरै चिन्तित छिन् । सम्झनाको दुइ सन्तान थिए¸ सन्तोष र कुसुम । सन्तोषको मृत्युपछि उनको साथमा छोरी कुसम छिन् ।
श्रीमान र छोराको मृत्यु पछि उनलाई समाजले धेरै उपनाम दियो । ति कुराहरु उनी व्यक्त गर्न चाहदैनन् । सम्झना अहिले आफ्नो छोरीको भविष्य खोज्दै छिन् । उनीअहिले माइती गाउँ तेवाङमा व्यावसाय गरेर बसिरहेकी छिन् । ०७२ सालम नगरपालिकाले प्रदान गरेको ३ महिने सिलाई कटाइ तालिममा उनी सहभागि हुने मौका मिलेको थियो । श्रीमानको मृत्युपछि गाउँमै बस्ने र गाउँमा केहि मात्रामा कपडा सिलाउने गर्थिन उनी । र त्यहीबाट केही मात्रामा आएआर्जन गर्दथिन् । सानै उमेरमा विवाह गरेकी उनीसँग हाटमा केहि सिप पनि थिएन् नत धेरै पढेकी नै थिइन् ।
आफुले सिकेको सिलाई कटाई सीपलाई सदुपयोग गरेर सानो व्यवसाय गर्ने उनलाई इक्षा लाग्यो । र माइती गाउँमा भाडामा बसेर पसल सञ्चालन गरिन् । व्यवसाय सञ्चालनका लागि उनीसँग प्रयाप्त पैसा भने थिएन् । उनले सुनिन¸ व्यावसाय गर्नेहरुलाई लघुवित्तले ऋण प्रवाह गर्छ भन्ने अनी एक लघुवित्तबाट सुरुमा ३० हजार रुपैयाँ ऋण लिइन र मिना फेन्सी तथा कस्मेटिक पसल नाम राखेर व्यवसाय दर्ता नै गरेर सुरु गरिन ।
विस्तारै लघुवित्तबाट लिएको ऋण सबै तिरिसकेको उनले बताइन् । गाउँमा कपडा सिलाईबाट तिज¸ दशै¸ तिहार¸ मेला¸ महोत्सव जस्ता ठुला पर्वहरुमा राम्रै आम्दानी हुने उनी बताउछिन् । अहिलेको समयमा पनि मासिक १५/२० हजार बराबरको व्यवसाय भैरहेको उनले बताइन् । तिज दशै तिहार मेला महोत्सव जस्ता ठुला पर्वहरुमा कपडा थुप्रो आउछ एक्लै भ्याइनभ्याइ हुन्छ उनले भनिन् । सिलाई कटाई सम्बन्धि ३ महिने आधारभुत तालिम मात्र लिएकी उनी अहिले सिलाई कटाईको प्रशिक्षक समेत बनेकी छिन् । उनीसँग अहिले २ जनाले सिलाई कटाईको सीप सिकिरहेका छन् ।
कतिपय महिलाहरु श्रीमानको मृत्यु पश्चात अर्को वैवाहिक वन्धनमा बाढिन्छन् तर सम्झना आफु छोरीको भविष्यको लागि अर्को विवाह नगरेको बताउछिन् । उनको छोरी अहिले रोल्पाको सदरमुकाम लिवाङमा अवस्थित वालकल्याण नमूना माविमा कक्षा ५ मा अध्ययन गर्छिन् । छोरीलाई राम्रो शिक्षा दिने उनको ठुलो इक्षा छ । सानै उमेरमा विवाह गर्दा धेरै दुख पाए उनले भनिन।तर छोरीलाई धेरै पढाउने उनको इक्षा छ ।
