राेल्पा, ०७ साउन । प्राचीन समयदेखि गाउँघरमा जिविकोपार्जनका निमित्त गरिदै आएका पुर्खौली पेशाहरु पछिल्लोसमय संकटमा पर्न थालेका छन् । आधुनिक प्रविधिको प्रयोगमा वृद्धि हुन थालेपछि आरन, माटोको भाडा बनाउने, काठ्बाट भाडा बनाउने, जाँतो बनाउने लगायतका पुर्खौली पेशाहरु संकटमा परेको हो ।
रोल्पाको सुनिलस्मृती गाउँपालिका ७ तेवाङका केशरमान कामीको पुर्खौली पेसा आरन पेशा हो । उमेरले ६० वर्ष कटेका केशरमान अहिले पनि दैनिक रुपमा आरनमै रहन्छन ।
जसोतसो आरनबाटै जिविकोपार्जन गरिरहेका उनले पछिल्लो समय यसबाट जिविकोपार्जनमा समस्या भएको बताउछन । उनले भने- ‘आरनबाट जिविकोपार्जन गर्न गार्हो छ, पछिल्लो समयमा बजारकै उपकरणको प्रयोग बढी भएको कारण यस्तो अवस्था आएको हो ।’
आधुनिक प्रविधिको प्रयोगमा वृद्धि हुन थालेपछि पुर्खौली पेशाबाट जिविकोपार्जन गर्न गार्हो भएको छ । साथै पुर्खौली पेशाहरु संकटमा पर्दा एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरणमा समेत चुनौती देखिएकोछ । यसले गर्दा प्राचिन समयदेखि गरिदै आएका पेशाहरु नै संकटमा पर्ने देखिएको छ ।
पुर्खौली पेशाबाट मनग्य आम्दानी गर्न नसकिने भएकाले आफुभन्दा पछिका छोरा-नातीहरुले यस व्यवसाय प्रति खासै चासो नदिएको केशरमानले बताए । यसबाट खासै आम्दानी नभएको कारण छोराहरू विदेशिएको उनले बताए ।
बाबु बाजेले आरनबाटै सहजै जिवीकोपार्जन गरेका थिए । पछिल्लो समय यस पेशाबाट जिवीकोपार्जन गर्न सकिने अवस्था आएन उनले भने । आफ्नो ५ सन्तान मध्ये २ वटा छोराहरु विदेश गएकोमा उनले गुनासो गरे । हातमा सीप भएर पनि राम्रो आम्दानी नहुँदा सन्तान विदेशिनु परेको उनले दुखेसो व्यक्त गरे ।
केशरमान जस्तै पुर्ख्यौली पेशाको रुपमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ रुइनिबाङमा आरन व्यवसाय गर्दै आएका कुलबहादुर विकले पनि पहिलो जस्तो पछिल्लो समय व्यावसाय कमजोर हँदै गएको बताए ।
बजारमा सबै सामानहरु तयारी अवस्थामा उपलब्ध हुन थालेपछि आरन पेशामा समस्या पर्न थालेको उनले बताए । पुर्यौली पेशाहरु संकटमा पर्नुमा विशेष गरी यसको संरक्षणमा कुनै निकायको खासै चासो नहुँदा पनि समस्या भैरहेको उनको भनाई छ।
सानै देखि आरन व्यवसाय गर्दै आएका विक अहिले ७० वर्षका भए । उनले फलामबाट विभिन्न घरायसी सामाग्रीहरु बनाउछन् । ‘हातमा सीप छ तर बजार राम्रो छैन् धेरै मेहेनत गरेर सामाग्रीहरु तयार पार्दछौ‚ तर भनेजस्तो मुल्य पाउनै मुस्किल हुन्छ’ उनले भने- ‘अब आरन व्यवसाय गरेर जिविकोपार्जन गर्न धौ धौ भएको छ ।’
धेरैले आरनबाट आम्दानी हुन छाडेपछि दोस्रो विकल्प खोजिसके आफुभने अरु काम गर्न सक्नेउमेर पनि नभएको कारण अर्को विकल्प रोज्न नसकेको उनले बताए । विगत केही वर्ष यता पुर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर नजिकैको लुंग्री खोलाको तिरमा पावल
र पवन विक काठबाट भाडा बनाउने काम गछन् । यो उनीहरूको पुर्खौली पेशा हो । उमेरले करिब ३०-३५ वर्ष पुगेका उनीहरुको यो पेशा जिविकोपार्जनको मुख्य आधार भने बन्न सकेको छैन ।
उनीहरू फुर्सदको समयमा मात्र काठबाट भाडा बनाउने सिपको सदुपयोग गर्दै आएका छन् । काठबाट विभिन्न डिजाइनका सामाग्री तयार गर्ने सीप भएका उनीहरुको सिपले उचित बजार पाउन सकेको छैन ।

काठबाट ठेकी, चक्ला, बेल्ना‚ बट्ल र कोठा सिङ्गारनको लागि विभिन्न काठबाट निर्मित सामाग्री लगायतका वस्तुहरु बनाउन सकिन्छ । बजारमा प्रसस्त मात्रामा आल्मुनियम र प्लास्टिकबाट तयार गरिएका सामाग्रीहरु उपलब्ध हुन थालेपछि काठको भाडा संकटमा परेको पावल विकले बताए ।
काठबाट बन्ने भाडामा मेहनत बढी हुन्छ‚ मेहेनत अनुसार आम्दानी उठाउन सार्है गार्हो परेको पावल बताउछन् ।
गाउँघरमा जिविकोपार्जनका लागि गरिदै आएका पेशाहरु संकटमा पर्नु अत्यन्त दुखद कुरा त हो तर यसको संरक्षणमा कुनै पनि निकायको ध्यान नदिनु अझ दु:खद कुरा हो । सरकारले स्थनीय स्तरमा उत्पादन भएका सामाग्रीलाई प्राथमिकता नदिनु वजारिकरणकालागि समन्वय नगर्दा पनि स्थानीय उत्पादनले बजार पाउन नसकेको हो ।
पछिल्लो समयका युवा पुस्ताले पुर्ख्यौली पेशा सिक्न खोज्दैनन् । उनीहरुलाई पुर्ख्यौली पेशाबाट केहि हुन्न भन्ने लागेको छ । पुर्ख्यौली पेशाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । स्थानीय प्रदेश र संघ गरी तिनै तहका सरकारले पुर्ख्यौली पेशाको संरक्षणमा जोड दिन आवश्यक छ ।
पुर्ख्यौली पेशाबाट पनि जिविकोपार्जन गर्न सक्ने वातावरण मिलाउन सके आर्थिक विकास र रोजगारिमा समेत सहयोग पुग्ने थियो । पुर्ख्यौली पेशहरुको संरक्षणका आधुनिक प्रविधिसँग जोड्न आवश्यक छ ।
भरत विश्वकर्मा
