गमानसिङ घर्ती मगर,रुकुम पश्चिम ७ साउन/ आठबिसकोट नगरपालिकाका भुकम्प पीडितले अस्थायी आवास निर्माण पछि पाउनु पर्ने दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन् । अस्थायी आवास निर्माणका लागि प्रति लाभग्राही पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी दुई किस्तामा ५० हजार दिने भनिए पनि दोस्रो किस्ता भने अझै पाउन सकेका छैनन् ।
गत बर्ष कार्तिक १७ गतेको भुकम्पले घर भत्काई दिए पछि कार्तिक र मंसिर महिनाको चिसो त्रिपालमा रात कटाएका भुकम्प पीडित पुष महिनाको अन्त्य तिर अस्थायी आवास निर्माणका लागि २५ हजार रुपैँया पाएका थिए । नगरपालिकाका अनुसार हाल पालिका भर सबै अस्थायी आवास निर्माण भैसकेका छन् ।
नगरपालिकाका सूचना अधिकारी कुबेर बस्नेतका अनुसार पालिका भर जम्मा १० हजार ३ सय ९४ लाभग्राही रहेका मध्ये दोस्रो किस्ता बापतको रकम ३ हजार १३ लाभग्राहीले मात्र पाएका छन् । दोस्रो किस्ता पाउने वडाहरु १३ ,७ र १० वडाका आधा लाभग्राहीले दोस्रो किस्ता पाएका हुन । बाँकी पालिका भर ७ हजार ३ सय ८१ लाभग्राहीले साउन १५ पछि मात्र पाउने बताएको छ । सूचना अधिकारी बस्नेतका अनुसार जिल्लाबाट भुकम्प पीडितका लागि पालिका आउँनु पर्ने रकम नआउँदा लाभग्राहीलाई दोस्रो किस्ता दिन ढिलाई भएको हो । यता जेनतेन हिउँद र बर्षातको समयमा अस्थायी टहरामै रात कटाएका भुकम्प पीडित पुर्णः निर्माणको पर्खाइमा छन् । भुकम्पले भत्काइदिएका घरको पुर्ण: निर्माणको मापदण्ड र बजेट पालिका नआउँदा कहिले सम्म हुन्छ पुर्णः निर्माण अझै अन्यौल देखिन्छ ।
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्र बिन्दु बनाएर गएको भुकम्पले आठबिसको नगरपालिका ४३ जनाको ज्यान लिएको थियो ।
