काठमाडौं, ४ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लब माथि जित हात पार्न सके साविक विजेता मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै उपाधि जित्ने पक्का गर्नेछ ।
यदि यस खेलमा जित हात पारे मछिन्द्रले दोस्रो पटक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्ने छ । मछिन्द्रलाई उपाधि रक्षाको लागि तीन अंकको आवश्यक्ता रहेको छ ।
सातदोबाटोे माथिल्लो डिभिजनमा पहिलो पटक खेलीरहेको हुनाले यो दुई टोलीबीचको पहिलो खेल पनि हो ।
सातदोबाटो ‘बी’ डिभिजनको वर्तमान च्याम्पियन हो भने मछिन्द्र ए डिभिजनको च्याम्पियन हो । यसर्थ यी दुई टोली बीचको यो खेललाई ‘ए’ र ‘बी’ डिभिजनको विजेताबीचको भिडन्तको रुपमा पनि हेरिएको छ ।
शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो समान १० खेलबाट १५ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
