अञ्जना चौधरी,तुलसीपुर, १४ साउन/ प्रकृतिको पुजारी भनेर चिनिने थारु समुदाय । थारु समुदायको रहनसहन गैरथारु समुदाय भन्दा बेग्लै छ । थारु समुदायको आफ्नै मौलिक भेषभूषा, चालचलन, रहनसहन, भाषा र संस्कृति छ । तर केही वर्षयता थारु समुदायको सांस्कृतिक र परम्परामा पश्चिमा संस्कृति बढ्दै जाँदा थारु समुदायको मौलिकता पनि हराउँदै गएको पाइन्छ । परापुर्वकालदेखि चल्दै आएको आफ्नो रीति रिवाज प्रति पछिल्लो युवापुस्ताहरुले वेवास्ता गरेकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । पुरानो संस्कार जोगाउँनु पर्छ भन्ने सोच राख्ने थारु अगुवाहरु संस्कार जोगाउँन तर्फ खासै चासो दिएको पाइदैन । हामीलाई पुरानो संस्कार जोगाउँनु पर्छ भन्ने मनमा लागेको छ तर नयाँ पुस्ताले पनि वास्ता गर्दैनन्, हामीले पनि पुरानो पहिरन र संस्कारको बारेमा बुझाउन तर्फ लागेका छैनौं, तुलसीपुर ६ का थारु अगुवा छोटीलाल थारुले भने ।
थारु समुदायमा विवाह गर्नेदेखि मलामी जाँदा समेत आफ्नै मौलिक संस्कार छ । खासगरी विवाहमा बेहुला बेहुली र उनीहरुलाई पर्छिएर घरमा भित्राउने महिलाहरुले लगाउँने पहिरन पनि फरक छ । तर अहिले त्यो पहिरन खासै देख्न पाइदैन । आजकाल थारु समुदायका युवा पुस्ताले कोटपाइन्ट लगाउँछन भने दुलहीहरु सारी र लेहेङ्गामा सजिएका हुन्छन् । पहिले थारु समुदायमा बेहुलीलाई माइतबाट दुलाहाको घरमा ल्याएपछि पर्छिने बेलामा दुलाहाले पगरी, जामा लगाउँथे भने दुलहीले च्वाला, फर्या र टाउँकोमा सेतो कपडाको फराउ राख्दथे ।
दुलाहा दुलहीले लगाउँने कपडा घ्यु रंगको सेतो हुन्छ । दुलाहा, दुलहीहरुलाई पर्छिने आमा भाउजुहरु पनि सेतो रंगको चोली, (च्वाला) फरिया, (फर्या) र चौकिदार बर्खी लगाउथे । बिहेमा लगाउँने यस्तो खालको कपडा नइनसुट र टेरिकाटको मात्रै बनाईन्छ । यस्तो खालको बिवाहमा लगाउने कपडा कसले आफैले सिलाउथे भने कोहीकोहीले गाउँघरमा मागेर लगाउथे । तर आजभोली थारु समुदायको बिवाहमा यस्तो खालको पहिरन देख्न पाइदैन । आजकाल थारु समुदायमा बिहे गर्नेबेला लगाउने पुरानो पहिरन हराउँदै गएको तुलसीपुर ६ की चन्द्री चौधरी बताउँनुहुन्छ । युवापुस्ता पुरानो रीतिभन्दा नयाँ पहिरनतर्फ आकर्षित भएकाले पनि थारु समुदायको बिवाहमा लगाउँने जामा, पगरी र फर्या सिलाउने मान्छे पनि पाइन छोडेको उहाँको भनाई छ । थारु समुदायमा पुर्खौदेखि चल्दै आएको रहनसहन हराउँदै गएको भन्दै वहस चल्दै गर्दा केही युवाहरुले भने पुरानो पहिरन जोगाउन तर्फ लागेका छन । खासगरी उनीहरु बिवाहमा पुरानो लगाम लगाउन थालेका छन । थारु समुदायका लागि यो खुशीको कुरा हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँका प्रणव चौधरीले आफ्नो बिहेमा अघिबाट चली आएको अर्थात बाउ बाजेको पालामा लगाइने पहिरन लगाएर बिवाह गर्नुभयो । उहाँले आफु मात्रै नभएर आफ्नो जीवनसाथी र बुवा आमाकोलागि पनि उस्तै खालको कपडा सिलाउनु भएको थियो । ‘म सानै थिए, मेरो हजुरबुवा, हजुरआमा, बुवा र आमाले बिवाहमा लगाइने पुरानो पहिरनको बारेमा कुरा गरेको सुनेको थिएँ, उहाँहरुको कुरा सुनेर मलाई पनि आफ्नो बिहेमा यस्तो खालको कपडा सिलाएर लगाउने रहर लाग्यो उहाँले भन्नुभयो ।
थारु परम्परागत पोशाक खोजी गरेर त्यो पोशाक सिलाउन जान्ने मान्छे पनि पाउँदा एकदमै खुशी लागेको उहाँले बताउनुभयो । अरु समयमा थारु समुदायको पुरानो पोशाक नलगाए पनि विवाहमा चाहि लगाउनु पर्छ भनेर आफुले जोड गरेको उहाँको भनाई छ । आफ्नो चाहना अनुसार घरपरिवार र साथीबाट समेत साथ पाएपछि अझबढी आफुमा हौसला जागेको प्रणवको भनाई छ । आफ्नो छोराले पुरानो पहिरन लगाएर विवाह गर्ने सोच बनाएपछि एकदमै खुशी लागेको प्रणवका बुवा चन्द्रजित चौधरीले पनि व्यक्त गर्नुभयो ।
कैलालीको जानकी गाउँपालिका वडा नं. ३ भगतपुरका मिट्ठु चौधरीले पनि पुरानै परम्परागत पहिर लगाएर बिवाह गर्नुभयो । विवाह भनेको एउटा नयाँ सम्बन्धमा पुरानो थारु संस्कार अहिलेको पुस्तामा हस्तान्तरण गर्ने उत्सवका रुपमा लिएर हामीले पुरानो थारु पहिरन लगाउनुपर्छ भनेर जामा, पगरी लगाएका हौं उहाँले भन्नुभयो । तर विवाहमा लगाउने पहिरन सिलाउन जानेका मान्छे भेटाउन भने समस्या परेको उहाँले बताउनुभयो । तर धेरै जनासँग सोधखोज गरेर जामा, पगरी, चादर, च्वाला र फर्या सिलाउन जानेको मान्छे भेट्टाउन सफल भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय थारु समुदायको विवाहमा लगाइने लुगा सिलाउन जानेका व्यक्तिहरु पनि भेटिदैनन । विगत १० वर्षदेखि तुलसीपुरमा सिलाई सञ्चालन गर्दै आउनु भएकी आशा चौधरीले अहिलेसम्म थारु समुदायको विवाहमा लगाइने पुरानो पहिरन सिलाउन अहिलेसम्म कोही नआएको बताउनुभयो । आफुहरुलाई पनि त्यो खालको लुगा सिलाउने बारेमा जानकारी नभएको बताउनुभयो ।
पहिले अहिलेको जस्तो रंगको विकास पनि भएको थिएन, त्यसैले नेचुरल मार्किनको इन्डियन सुतीको घ्यु रंगको सेतो लुगा लगाएर बेहुला, बेहुली घरमा भित्र्याउने गरेको संस्कृतिविद् अशोक थारु बताउँनुहुन्छ । त्यसैगरी थारु समुदायको प्राकृतिक जीवनशैलीको कारण पनि सेतो लुगा लगाउने गरेको संस्कृतिविद थारुले बताउनुभयो । केही युवाहरुले फेरी जामा, पगरी आदि लगाएर विवाह गर्न थालेको प्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
