तेस्रोआँखा, तुलसीपुर, १६ साउन
जापानिज परिकार ’सुसी’को स्वाद लिन अब काठमाडौँ र पोखरा जस्ता ठूला सहरहरू धाउनै पर्दैन । हाम्रै दाङको बिपी चोक, तुलसीपुरमा पाइन्छ । सुसी मात्र होइन, स्वादका पारखीहरूका लागि यहाँ कन्टिनेन्टल, थाई, चाईनिज र रैथाने नेपाली खानालगायतका व्यञ्जनहरू पस्किने व्यवस्था छ । तुलसीपुरको मुटु मानिने बिपीचोकमा सल्यानका युवा तुफान केसीले सञ्चालन गरेको कुमाख फुड क्याफेमा यो प्रबन्ध मिलाइएको छ । तुफान केसीले सन् २०१७ देखि झण्डै १ करोड २० लाख रुपैयाँ खर्च गरेर यो रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको हो ।

होटल व्यवसायी केसी आफै पनि स्वादका पारखी भएको दाबी गर्नुहुन्छ । रेस्टुरेन्ट व्यवसायमा कुनै नयाँ परिकारको इन्भेन्सन वा इन्ट्री भयो कि उहाँलाई चाखिहाल्नुपर्छ । अचेल आफूले चाखेको त्यो स्वाद आफ्ना ग्राहकहरूलाई चखाउनु र नयाँ नयाँ फूडहरूको इन्भेन्सन गर्नु केसीको दिनचर्या नै बनेको छ ।
उच्च शिक्षा अध्ययनको लागि राजधानी छिर्नु भएका तुफान केसी कलेजको समयपछि केही नयाँ सिक्न र भिन्न भिन्न परिकारहरूको स्वाद लिन काठमाडौँको पर्यटकीय स्थल ठमेलतिर बरालिनु हुन्थ्यो । केही नयाँ सिकौं र बुझौं भन्ने उत्कट इच्छा राख्ने केसीले सिक्नकै लागि केही समय ठमेलका रेस्टुरेन्टहरूमा नोकरी पनि गर्नुभयो । होटलमै काम गरिसकेपछि पकवानहरू कसरी बनाइँदो रहेछ र होटल व्यवसाय कसरी चलाउन सकिँदो रहेछ भनेर धेरथोर आइडिया आउने नै भयो । काठमाडौँको बसाइमा उहाँले होटल व्यवसायलाई नजिकबाट बुझ्नु भयो ।

तर आफ्नै स्वामित्वमा काठमाडौँमै होटल खोल्न दुई चार करोडको आवश्यकता पर्छ, जुन केसीसँग थिएन । थोरै लगानीमा नयाँ केही गरौं भनेर राजधानीबाट दाङ फर्किनु भएका तुफान केसीले यहाँका उत्पादनहरूलाई प्राथमिकता दिएर रैथाने नेपाली खानासँगै थाई, चाइनिज एवं कन्टिनेन्टल परिकारहरू पस्किने अठोटका साथ कुमाख फुड क्याफे सञ्चालनमा ल्याएको तेस्रोआँखा सँग बताउनु भयो ।।
कुमाख सल्यानको गाउँपालिका हो, कुमाख पहाडको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । जहाँ होटेल व्यवसायी तुफान केसी जन्मिनु भएको हो । भविष्यमा कुमाखलाई ब्राण्डिङ गरेर फ्रेन्चाइसी दिने उहाँको योजना छ ।

कुमाख यस्तो क्याफे हो, जहाँ विशुद्ध नेपाली रैथाने परिकारहरु पाइन्छन् । गाउँघरमा बनाइने मौलिक तथा परम्परागत खानालाई फरक स्वादमा खुवाउँदै आएको उहाँको भनाइ छ । अचेल प्रायः रेष्टुरेन्टहरुमा हानिकारक फुड कलरको प्रयोग गरिन्छ । तर कुमाखमा त्यस्ता रङ्गहरुको प्रयोग नगरिने केसी बताउँनुहुन्छ । खानेकुराहरुमा कलर ल्याउनु परे रातोको लागि चुकन्दर र हरियो लागि पालग (पालुङ्गो) लगायतका सब्जीहरुको प्रयोग गरी स्वास्थ्यबद्र्धक कलर समिश्रण गरिन्छ । होटल व्यवसायी केसी भन्नुहुन्छ, कुमाखमा परिकारहरु तयार पार्दा ग्राहकहरुको स्वास्थ्यलाई विशेष ख्याल राखेर बनाइन्छ । गाउँघरकै अन्न र मसलाहरु प्रयोग गरेर स्वादिष्ट व्यञ्जन तयार गर्दा जो कोहीले पनि यहाँका पकवानहरु महंगो हुन सक्ने अड्कल काट्नु स्वभाविकै हो । तर स्वच्छता र स्वास्थ्यबद्र्धक सामग्रीहरुको प्रयोग गरी बनाइएका परिकारहरुको मेनु खासै महंगो नभएको केसीले स्पष्ट पार्नुभयो ।
यो क्याफेमा विशेषगरी बधिया भाले र खसीको मासु नछुट्ने उहाँले तेस्रोआँखा सँग बताउनु भयो । दाङ र सल्यानमा खसी पारेको कुखुराको भालेलाई बधिया भन्ने गरिन्छ । त्यसो त चलनचल्तीमा रहेका मासुका सबै परिकारहरु कुमाखले पस्किदै आएको छ । कुमाखको स्वाद चाख्नका लागि दाङ र सल्यानका मात्रै होइन काठमाडौं, रुपन्देही, चितवन र बाँकेलगायतका जिल्लाहरुबाट पनि ग्राहकहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । पश्चिम नेपालमा तयार पारिने चलनचल्तीका रैथाने खानाहरुलाई ब्राण्डिङ गरी प्रमोट गर्ने उहाँको धोको छ ।
कोदोको परिकारहरुमा ढिडो, मःम र पुवालगायतका पकवानहरु कुमाखका प्राथमिकतामा पर्छन् । जसलाई सिस्नोको झोल, टिमुर मिसाइएको चट्नी र बधिया भालेको मासुसँग खान सकिन्छ । त्यसो त च्याउको मःम पनि कुमाखको विशेष परिकार हो । च्याउबाट सब्जी र सुप आदि पनि यहाँ उपलब्ध छ । यहाँ ११ देखि १२ प्रकारका मःमहरु पाइन्छन् । केसीले अनुकुल समय मिलाएर भविष्यमा मःम फेस्टिभलको आयोजना गर्ने योजना रहेको सुनाउनु भयो । ढिडोकै कुरा गर्दा कोदो बाहेक मकैलगायका अन्नहरुको पनि प्रयोग गरिन्छ । सकेसम्म पकवानहरुमा प्रयोग गरिने हरियो खुर्सानी, बेसार, अदुवा, टिमुरलगायतका जैविक (अर्गानिक) मसलाहरुको प्रयोग गरिने उहाँको दावी रहेको छ ।
होटल व्यवसायी तुफान केसीले क्याफेका अलावा स्किल डेभलपमेन्टका लागि कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स नामक कलेज पनि सञ्चालन गर्नु भएको छ । जहाँबाट हजारौं विद्यार्थीहरुले आफ्नो क्षमता अभिवृद्धि गरिसकेका छन् । कलेज र क्याफेमार्फत उहाँले दर्जनौंलाई रोजगारी दिनु भएकोकुरा तेस्रोआँखा सँग बताउनु भयो ।

कुमाखमा रैथाने नेपाली थाली, जापानिज सुसि, कोदोको ढिडो, सेलरोटी तथा मःम, बधिया भालेलगायत अन्य परिकारहरु पनि उपलब्ध छन् । जसमा काँचो मेवाको अचार, खसीको झोल, सिन्की र भटमासको झोल, साँधेको कुखुरा, आलु–भाङ्गोको अचार, ढिक्रि र लसुनको चटनी, फुलौरी, मोही सातु, जुनेली मकै, केराको बुंगोको अचार र माटेसँग राप आदिको आनन्द लिन सकिन्छ । तर चलनचल्तीका परिकारहरु तयारी अवस्थामा रहेपनि विशेष खानाहरुको स्वाद लिन जाँदा भने केही समय अगाडि अर्डर गर्नुपर्ने या केही मिनेट धैर्य गर्नुपर्ने उहाँले तेस्रोआँखा सँग बताउनु भयो । तर दाङका ग्राहकहरुको फुडी कल्चर नभएकोप्रति उहाँले गुनासो व्यक्त गर्नुभयो । नेपालकै अन्य ठूला सहरहरु र विश्वभरी नै प्रायः विदाका दिनहरुमा ग्राहकहरुको भिडले होटलहरु भरिभराउ हुन्छन् । तर दाङको तुलसीपुरमा त्यसको ठीक उल्टो छ, विदा दिनहरुमा बजार सुनसान हुन्छ । घरको स्वाद त सधैं लिइनै रहन्छौं, तर कहिले काहीँ सपरिवार मिलेर होटलका परिकारहरुका पनि स्वाद लिन र फुडी कल्चरमा रमाउन होटल व्यवसायी केसीले आग्रह गर्नु भएको छ ।
उदीराम चौधरी
