काठमाडौं, ५ फागुन । शहीद स्मारक एडिभिजन लिगमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङदी क्लब माथि सानदार जित हात पारेको छ ।
बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङलाई तीन एक को गोल अन्तरमा हराएको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक एक गोल गरे । मनाङका लागि अन्जन विष्टले एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गरेको गोलमा मनाङले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि खेलको ४० औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेललाई एक एक को बराबरीमा फर्काए ।
खेलको ८२ औं मिनेटमा मनि कुमार लामाले गोल गर्दै एपीएफलाई दुई एकको गोल अन्तरमा पुराए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपीएफलाई तीन एक को जित दिलाए ।
यो जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ । एपीएफ ११ खेलमा १४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा उक्लेको छ ।
समान ११ खेल खेलेको मनाङले २० अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
