काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई ३९ रनले पाराजित गरेको छ ।
बिहीबार ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमान विरुद्ध ३९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।
एक सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रन मात्र जोड्न सक्यो ।
ओमानको लागि नसिम खुसीले २४ रन, आमिर कलिमले नौ, जातिन्दर सिंहले नौ, खबर अलीले सात, फयाज बटले छ, कलिमुल्लाहले पाँच, अयान खानले तीन, जिसन मक्सुदले दुई र सोएब खानले एक रन बनाए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । अविनास बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रन जोड्न सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । त्यस्तै सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।
लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले सात, कुशल भुर्तेलले पाँच, आशिफ शेखले चार र कमल सिंह ऐरीले एक रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक तीन विकेट हात पारे । विलाल खानले दुई विकेट लिए ।
त्यस्तै फ्याट बट र जिसन मक्सुदले एक–एक विकेट लिए ।
