रोल्पा,२४ साउन । परम्परागत प्रणालीबाट गरिरहेको खेतीबाट खासै आम्दानी नभएपछि उक्त बारीमा आँपको व्यवसायिक खेती गर्ने सोच आयो सुनिलस्मृति गाउँपालिका-२ खंग्रीका रमेश विक्रम सिंहलाई । अनी उनले उक्त उजाड भूमिमा लहरैसँग आँपका विभिन्न प्रजातीका विरुवाहरु खरिद गरेर लगाए । उनको बारीमा यतिबेला लतरम्म आँप फलेका छन् । उनको दिनचर्या हिजोआजबारिबाट आँप टिप्ने र ग्राहकलाई दिने कार्यमा बितिरहेको छ ।
उनले व्यवसायिक रुपमा आँप खेति गरिरहेका छन् । आँप खेतिलाई व्यवसायिक गर्ने योजना सहित सिंहले १४ रोपनी बराबरको क्षेत्रफल रहेको बारीमा अहिले विभिन्न प्रजातीका करिब १ सय भन्दा बढी आँपका बोटहरु रोपेका छन् । आफ्नो बारीमाआम्रोपाली, दसरी, लङगदा, बाह्रमासे, माल्टा लगायतका प्रजातीको आँप रहेको उनले बताए । उनको बारिमा पहिलेदेखि नै आँपको केहि मात्रामा बोटहरु थिए तर उनले व्यवसाय रुपमा आँप खेतिको सुरुवात गरेको भने धेरै समय भएको छैन् । उनले आँपखेतिलाई व्यावसायिक रुपमा ०७४ सालदेखि सञ्चालनमा ल्याएको बताए । उनले आर.वि.एस अर्गानिक फार्म प्राली नाम राखेर व्यवसायलाई दर्तानै गरेर सञ्चालन गरेका छन् ।
उनको फार्ममा आँप मात्र होइन सिजन अनुसारका लिचि, कागती, अम्बा, एवोकाडो, ड्रागनफुड लगायतका अन्य फलफूलहरु पनि उत्पादन भैरहेको छ । आफूले फलाएको आँपले राम्रो मूल्य पाएको सिंह बताउँछन् । आँपको खेतीबाट सिजनमा ४(५ लाख बराबरको आम्दानी गरेको उनले बताए । आँप खरिद गर्नको लागि व्यापारी तथा ग्राहकहरु बारीमै आउने भएकाले व्यापारमा पनि सहज भएको उनको भनाई छ । आँपको थोक मूल्य प्रति केजी ८० रुपैँया र फुट्कर मूल्य प्रतिकेजी १०० रुपैँयाका दरले विक्रि गरिरहेको उनले बताए । उनले आफ्नो बगौंचामा दुई जनालाई रोजगारी प्रदान गरेका छन् ।
अन्य खेती भन्दा आँप खेतिगर्न सजिलो हुने सिंहको अनुभव छ । पछिल्लो समय देशमा रोजगारीको अवसर छैन् भन्दै विदेशीने युवाहरुको लर्को रहेको छ ।, तर सिंह भन्छन् 'मेहनत गरे देशमै राम्रो आम्दानी गर्न सकिन्छ ।' सिंह उमेरले ६५ वर्ष पुगेका छन्, तर उनको खेति प्रतिको जोस भने असाध्यै रहेको छ । आफूले आँप खेती गर्नकोलागि कुनै प्रकारको तालिम तथा प्राविधिक सहयोग नलिएको उनले बताए ।
सबै कुराहरु सामाजिक सञ्जालमा हेर्दै गर्दै सिक्दै आएको उनले बताए । सरकारले व्यवसायिक खेति गरिरहेका किसानहरुको लागि आवश्यक प्रविधि र प्राविधिक ज्ञान दिनुपर्ने उनको माग रहेको छ । कृषि अनुदानको रुपमा पनि बास्तविक किसान भन्दा अन्यले पाउदाबास्तविक किसान मारमा परेको उनको भनाई रहेको छ। कृषिमा आत्मनिर्भर बन्नकोलागि एक जना कृषकले गरेर मात्र सम्भव नहुने भन्दै कृषि क्रान्तीमा सबैलाई लाग्न प्रेरित गर्छन् सिंह । जिल्ला बाहिरबाट आउने आँपले गर्दा स्थानीय आँपले उचित मूल्य पाउन नसकेको उनी बताउँछन् ।
जिल्ला बाहिरबाट आएका आँपका कारण बजारमा आँप विक्रिकालागि लैजादा आफुले उत्पादन गरेको आँप सस्तोमा बेच्नुपर्ने बाध्यता किसानमा रहेको उनले बताए । सिंहले आफ्नो बगौंचाबाट थप किसानहरु उत्पादन गर्ने थलोको रुपमा विस्तापित गर्ने योजना रहेको बताए । उनले बगौचालाई आँप खेतिको लागि अध्ययन स्थलको रुपमा समेत विकास गर्ने योजना रहेको सुनाए ।
भरत विश्वकर्मा
