बुटवल,७ फागुन । व्याडमिन्टन खेलका युवा खेलाडी उत्पादन तथा प्रोत्साहनको उद्देश्यका साथ लाफा समुहको आयोजनामा प्रतियोगिता शुरु भएको छ । कोरोना महामारी कोभिड १९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएको कारण स्थगित भएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान्स व्याडमिन्टन प्रतियोगिता २०७८ शुरु भएको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले शनिबार प्रतियोगिताको उद्घाटन गर्दै खेल पुर्वाधार र खेलाडी उत्पादनमा बुटवल उपमहानगरपालिका अगाडि रहेको बताए । खेलाडीहरुको खेल विकास गर्न पूर्वाधारको आवश्यकतालाई मध्यनजर गरी यसमा लगानी गरेको सुवेदीले दावी गरे ।
खेल रखेलाडीको विकाससँगै नगरभित्र निजि क्षेत्रको ९ अरब रुपैया बराबर लगानीमा सार्वजनिक विकासको गुरुयोजना अनुसार अघि बढेको उनले बताए । नागरिक स्माट भएपछि नगर स्मार्ट बन्ने भन्दै सांस्कृतिक र आर्थिक केन्द्रको रुपमा नगरको विकास भैरहेको उनको भनाइ छ ।
प्रतियोगितामा खल्ला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र सहितको पुरस्कार व्यवस्था गरिएको समूहका अध्यक्ष तारा रेश्मीमगरले बताए भेट्रान्सतर्फ उपाधि विजेताले नगद २५ हजार रुपैया, दोस्रो टिमले नगद १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका गरि खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएका खेल संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको छ ।
