तुलसीपुर २९ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाका बिरामीको संख्या बढेको छ।
राप्ती आँखा अस्पतालका प्रशासन प्रमुख सालिकराम गौतमकाअनुसार आँखा अस्पतालमा दैनिक बिरामी संख्या बढ्दै गएको छ । अरु समयभन्दा बर्षायाम लागेसँगै आँखा सम्बन्धि समस्या भएका बिरामीको संख्या ह्वातै बढेको गौतमले बताउनुभयो ।
बर्षायाम लागेसँगै अस्पतालमा दैनिक आँखा उपचारका लागि २८० देखि ३२० जनासम्म बिरामी आउँने गरेका छन् । गर्मी समयमा आँखा चिलाउने, एलर्जी जस्ता बिरामीको संख्या बढी भए पनि साउन यता आँखा पाक्ने, बिझाउने, भाइरल इन्फेक्सनको समस्या बढि भएका बिरामी आउँने गरेको गौतमले तेस्रो आँखालाई जानकारी दिनुभयो । खासगरी ६० देखि ८० जनासम्म बिरामीहरुलाई यस्तो समस्या देखा परेको उहाँले बताउनुभयो ।
बिरामीहरु मध्ये सबैभन्दा धेरै जनामा भाइरल इन्फेक्सनको असर देखापरेको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ । त्यसैगरीे आँखाको रेटिना प्रदानको समस्या, आँखामा मासु पलाउने, मोतिबिन्दु, नानीमा घाउ हुने, चस्मा लगाउने जस्ता समस्या भएका बिरामीहरुको संख्या पनि बढेको गौतमले तेस्रो आँखालाई बताउनुभयो ।
हालको तथ्यांक हेर्दा १३ वर्षदेखि ३९ बर्षसम्मको बिरामीमा बढी समस्या देखिएको छ । त्यस्तै ६० वर्षदेखि माथि उमेर भएका बिरामीहरु पनि बढी रहेका छन् । आँखा अस्पतालमा उपचारका लागि दाङ जिल्लासहित ४३ जिल्लाबाट बिरामी आउँने गरेका छन् । ति मध्ये साविक राप्ती अञ्चलका सबै जिल्ला र दाङ, सल्यान, रुकुम पश्चिम, रोल्पा, रुकुम पूर्व, प्युठान, सुर्खेत, जाजरकोट, जुम्ला लगायतका जिल्लाका बिरामी उपचारका लागि राप्ती आँखा अस्पतालमा आउने गरेका छन् ।
गौतमकाअनुसार यस्ता रोगहरुबाट बच्नका लागि संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल प्रयोग नगर्ने, बिस्तारा, औषधि, चस्मा प्रयोग गर्ने, साबुन पानीले हात धुने, आँखाका बिरामीहरुसँग हात नमिलाउने, झुठो खाना नखाने, मास्कको प्रयोग गर्ने जस्ता कुरामा ध्यान दिएमा भाईरल ईन्फेक्सन जस्ता रोगबाट बच्न सकिन्छ ।
