प्राचीन ‘सुकौराकोट दरबार’को तस्बिर हुलाक टिकटमा समेट्दै गर्दा थारु अगुवाहरुले किन बिरोध गरिरहेका हुन ?

प्राचीन ‘सुकौराकोट दरबार’को तस्बिर हुलाक टिकटमा समेट्दै गर्दा थारु अगुवाहरुले किन बिरोध गरिरहेका हुन ?


  • 11.2K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 17.2K Views

    प्राचीन ‘सुकौराकोट दरबार’को तस्बिर हुलाक टिकटमा समेट्दै गर्दा थारु अगुवाहरुले किन बिरोध गरिरहेका हुन ?

    तुलसीपुर, ६ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ को सुकौराकोट प्राचीन थारु राजाको दरबार हो । थारु राजा दंगीशरणले यही थुम्कोबाट राजकाज चलाउँथे भन्ने चर्चा परिचर्चाहरु हुँदै आएका छन् । 

    images

    पछिल्लो समय सुकौराकोट दरवारको ऐतिहासिकता र महत्व झल्काउने गरि त्यसको तस्बिर हुलाक टिकटमा आउन थालेको चर्चाले झनै चर्चा बटुलेको छ । वडाध्यक्ष मानबहादुर रावतले बुधबार बेलुका आफ्नो सामाजिक सञ्जाल फेसवुकमा यही कुरा उल्लेख गरेका छन् । 

    ‘दंगीशरण थारु राजा’को दरबारलाई हुलाक टिकटमा अन्तिम रुप दिइदैछ । उनले टिकटको नमूनासमेत फेसबुक मार्फत सार्वजनिक गरेका छन् । त्यसमा धेरैले आफ्ना कमेन्टहरु राखेका छन् । अधिकांशले खुसी साटेका छन् । प्रसंशा गरेका छन् । 

    तर, कतिपय थारु अगुवाहरुले भने रोष तथा असुन्तुष्ट प्रकट गरिहेका छन् । ‘थारु राजा दंगीशरण’को प्राचीनता र इतिहास मेटाउन खोजिएको दोषारोपन गरेका छन् । किन यस्तो भइरहेको हो ? त्यसभित्रको खास कारण जुन बस्तु वा नमुनाको रुपमा तस्बिरमा आउनु पर्ने थियो त्यो समावेश नहुनु नै हो । 

    वडाध्यक्षले सार्वजनिक गरेको नमुना तस्बिरमा ‘थारु राजा दंगीशरण’ले राज्य गरेको सुकौराकोटको दरबारको तस्बिर नहुनु हो । त्यसको ठाउँमा केही वर्ष पहिले मात्रै निर्मित त्यसैभित्रको एउटा अंश पार्कको फोटो टिकटमा राखिएकोप्रति थारु समुदायले बेखुसी बनेका हुन । 

    पटक–पटक ‘थारु राजा दंगीशरण’ले राज्य गरेको सुकौराकोट संरक्षणको इतिहास मास्ने र जग्गा अतिक्रमण गरेको भन्दै थारु समुदायबाट त्यसको विरोध भएको हो । पछिल्लो समय सार्वजनिक टिकटको नमुना त्यही भएर थारु समुदायका अगुवाहरुका लागि आलोचना र बहसको विषय बनेको हो । 

    वडाध्यक्ष रावतले स्थानीय थारु अगुवा र थारुको इतिहास अध्यताहरुसँग छलफल तथा सरसल्लाह नै नगरी एकाएक आफुखुसी तस्बिर पठाउने र टिकटको नमूना फेसबुकमा राख्ने कार्य गरेकोप्रति पनि थारु समुदाय खुसी छैनन् । 

    आफुहरुलाई त्यस विषयमा जानकारीसम्म नदिइएको स्थानीय अभियान्ता अभियान्ता महेश थारुले प्रतिक्रिया दिनुभयो ।  वास्तविक थारु राजाको दरबारको भग्नाशेष नभई केही समय अघि मात्रै निर्माण गरेको पार्क र निर्माणधीन भ्यूटावरको फोटो टिकटमा राखिएको भन्दै महेशले असन्तुष्टी जाहेर गर्नुभयो । पार्क र भ्युटावरको फोटो नभई वास्तविक दरबारको भग्नाशेषको फोटो टिकटमा राखिनु पर्ने उहाँको माग छ । 

    टिकटमा सुकौराकोट मात्रै लेखिएकाले त्यसमा ‘दंगीशरण थारु राजा’को दरबार उल्लेख हुनुपर्ने उहाँले सुझाउनु भयो । ‘सुकौराकोट मात्रै राख्दा कुन समुदायले राज्य गरेको भन्ने थाहा हुँदैन,’ उहाँले भन्नुभयो ‘ थारु राजाको राज्य शासन चलाएको ऐतिहासिक कुराहरु समावेश हुन जरुरी छ ।’

    स्थानीबासी नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि सरकारी हुलाक टिकटमा दंगीशरण राजाको दरबारको फोटो राखिएको विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । 

    ‘त्यो विषयमा मलाई केही जानकारी छैन,’ तेस्रो आँखासँग भण्डारीले भन्नुभयो ‘तर, हुलाक टिकटमा दंगीशरण राजाको दरबारको फोटो राखिनु राम्रो पक्ष हो ।’ थारु समुदायले जनाएको असहमती जायज रहेको उहाँले तर्क गर्नुभयो ।
     
    आजभन्दा करिब ७ वर्ष पहिले खानी तथा भूगर्भ विभागको टोलीले दुई पटक थारु राजा दंगीशरणले राज्य गरेको सुकौराकोट दरबारको उत्खनन गरेको थियो । उत्खननको क्रममा दरबार बनाउन प्रयोग भएको प्राचीन इट्टा, माटोका भाँडा, महिलाहरुले लगाउने गहनाहरु भेटिएका थिए । ती सामग्री संरक्षण गरि राखिएको छ । 


    थारु कल्याणकारिणी सभा दाङ देउखुरीका निर्वमान अध्यक्ष भुवन चौधरीले सुकौराकोटको ऐतिहासिकता पछिल्लो समय निर्मित पार्क र भ्युटार प्राचीन दरबारसँग सम्बन्धित नरहेको बताउनु भयो । त्यहाँ ‘अटुवा’ बनाउनु पर्छ भनेर आवाज उठाए पनि भ्यूटावर निर्माण गरिनु गलत भएको उहाँको कथन थियो । 

    आज हुलाक टिकटमा सुकौराकोटको दरबार ल्याउन खोज्नु सकारात्मक पक्ष भएपनि त्यो बारे थारु समुदायका अगुवासँग छलफल गरेको भए अहिलेको विवाद सृजना नहुने उहाँ ठान्नुहुन्छ ।  

    वडाध्यक्ष मानबहादुर रावतको पोष्टमै उहाँले त्यो फोटो प्राचीन दरबारसँग सम्बन्धित नभएको स्पष्ट उल्लेख गर्नुभएको छ । ‘यो फोटो दरबार हैन अध्यक्षज्यु । यो त पछि बनाएको पार्कको फोटो हो,’ उहाँले अगाडि लेख्नुभएको छ  ‘इन्सेटमा अधुरो भ्युटावको फोटो छ । जुन दंगीशरणसँग भनौ सुकौराकोट दरबारसँग सम्बन्धित छैन । सुकौराकोट दरबार यो फोटोको अलि माथि छ । उत्खनन्न गरे त्यो भेटिन्छ । सुकौराको एतिहासिकता ध्वस्त हुन लागेकोमा दुख व्यक्त गर्दछु।’

    454513600_1238090694036922_2072580900165169836_n.jpg

    पुरातत्व विभागले उत्खनन्को क्रममा विशेष तरिकाले अध्ययन गर्नुपर्ने भन्दै खोतलेको स्थाल प्लाष्टिकले पुरेर राखिएको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ । टिकट नै निकाल्ने भए भग्नावशेषको वास्तविक दरबारको फोटो राख्नु पर्ने उहाँले सुझाउनु भएको छ।

    थारु बुद्धिजिवी तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक केवी चौधरीले वडाध्यक्ष रावतको पोष्टमा धारणा राख्नु भएको छ ।  ‘राम्रो हो तर दरबार क्षेत्र पुरै देखाउदा राम्रो हुने थियो । यसको नाम राजा दंगीशरण थारु सुकौरा दरबार हुनु पर्ने हो । यो क्षेत्र सबै तिरबाट अतिक्रमणमा परेको छ, वरिपरिका सबै सम्पदा बच्ने गरि संरक्षण गर्न र थप उत्खनन् र विकासको काम अगाडि बढाउन जरुरी छ,’ उहाँले लेख्नु भएको छ । 

    454547088_1202435627477466_7286018673216043676_n (1).jpg


    थारु अगुवा चुर्ण चौधरीले पनि थारु राजाको दरबार सरकारी टिकट बनाउने कार्य आफैमा राम्रो भएपनि त्यसमा ऐतिहासिकता हराउन नहुने आशय ब्यक्त गर्नु भएको छ । 

    ‘इन्सेटमा अधुरो भ्यु टावर को फोटो छ, जुन थारु राजा दंगीशरणसँगको मौलिकतासँग मेल खादैन । यस सम्बन्धमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काज्युको कार्यकक्षमा भएको बैठक को निर्णय विपरित छ,’ उहाँले लेख्नु भएको छ  ‘वडा नं ११ का अध्यक्ष मान रावतज्युको मिखायल गोर्भाचोभको पथ (बाटो) तिरको लक्षण साबित हुँदै ।’

    अम्रिता सज्जनले पनि यसको विरोध गर्नु भएको छ । ‘दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ सुकौरामा थारु राजा दंगीशरणले राज्य गरेको स्थान भनेर चिनिन्छ । पुरातत्व विभागले दुई पटक उत्खनन गर्दा थारु जातिले प्रयोग गर्ने माटाका भाँडाकुडा, सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका ईट्टा, थारु जातिले पूजा गर्दै आएका माटाका विभिन्न प्रकारका देवी देवताका मूर्तिहरू र महिलाले घाँटीमा लगाउने गरगहना उत्खननको क्रममा भेटिएका प्रमाणहरू छन,’ उहाँले लेख्नु भएको छ ‘त्यस स्थानमा अग्लो टावर बनाउन के जरुरी छ ? के थारु राजा दंगीशरणको दरबार यस्तै थियो त ? होइन भने के उद्देश्यले यो टावर बनाइएको हो ? यसको औचित्य के हो ? थारुहरूको इतिहास मेटाउनको लागि गरिएको प्रपञ्च त होइन ।’

    उहाँले अगाडि लेख्नु भएको छ ‘जुन स्थानमा कुनै पनि भौतिक संरचना नबनाई तारबार गरेर संरक्षण गर्नुपर्ने हो तर त्यहाँ बजेट व्यवस्थापन मात्र गरिएको जस्तो देखिएको छ । पहिले पनि मैले भनेको थिए अहिले पनि भन्छु त्यहाँ थारु दङ्गीशरण राजाको इतिहास मेटिँदैछ ।’

    456244270_504198712202283_4547472308612243505_n.jpg


    थारु समुदायबाट विरोध हुन थालेपछि वडाध्यक्ष मानबहादुर रावतले सल्लाह सुझावको लागि मात्रै तस्बिर राखिएको स्पष्टीकरण दिनु भएको छ । 

    सरकारी हुलाक टिकटमा ‘थारु राजा दंगीशरण’ले राज्य गरेको दरबारको फोटो राख्ने कुरा वडा कार्यालयको नभइ संघीय सरकारको पर्यटन मन्त्रालयले गरेको कामको थालनी बुझ्न वडाध्यक्षले तेस्रो आँखालाई बताउनु भयो । दुई दिनअघि मात्रै टिकटको ड्राफ्ट आफु कहाँ आएकाले आफुले सल्लाह सुझावको लागि मात्रै फेसबुकमा राखेको बताउनु भयो ।

    सरकारी हुलाक टिकटमा दंगीशरणको फोटो समेटिनु एकदमै खुसीको कुरा भएको प्रतिक्रिया दिएका वडाध्यक्ष रावतले अब थारु समुदायका अगुवाहरुसँग छलफल गरि सुझावको आधारमा टिकट परिमार्जन गरिने बताउनु भयो ।


    अञ्जना चौधरी
    लेखकबाट थप