झापा, ९ भदौ/ झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ निवासी १९ वर्षीय अनिश लिम्बु, वडा नं.८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् । अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका-८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका-७ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको खोजीकार्य भई रहेको जनाएको छ ।
