विद्यालयमा राजनैतिक हस्तक्षेप
रोल्पाको सूर्योदय मावीमा पाँच महिनासम्म पनि विव्यस गठन हुन सकेन

रोल्पाको सूर्योदय मावीमा पाँच महिनासम्म पनि विव्यस गठन हुन सकेन


  • 10.0K
    SHARES
    • भाद्र ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 15.3K Views

    रोल्पाको सूर्योदय मावीमा पाँच महिनासम्म पनि विव्यस गठन हुन सकेन

    रोल्पा,  ९ भदौ। रोल्पाको एक सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनमा सहमति जुट्न नसक्दा समिति गठन अस्तव्यवस्त बन्न पुगेको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका ४ मा अवस्थित सूर्योदय माध्यामिक विद्यालयमा विव्यस गठनको लागि अभिभावकहरु बिचमा सहमति जुट्न नसकेको हो । लामो समयसम्म पनि विव्यस गठन नहुँदा रिक्त रहेको शिक्षक पदको पदपुर्ती पनि गर्न सकिएको छैन् भने यसले गर्दा विद्यालयको अन्य प्रशासनीक काममा समेत प्रभाव पारेको छ । 
    विद्यालयमा विव्यस समितिको गत चैत १४ गते म्याद सकिएको थियो । ति कार्यसमितिको म्याद सकिए यता पटकपटक छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन् । उक्त विद्यालयमा विव्यसको म्याद सकिएको ५ महिना भैसकेको छ तर नयाँ समिति हालसम्म पुनः गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समिति गठनकालागि विभिन्न समयमा अभिभावकहरुको भेला भएका छन् । तर ति भेलाहरु निष्कर्ष विहिन् बनेका छन् । 

    images


    विव्यस गठन नहुँदा शिक्षक नियुक्त गर्न सकिएको छैनः


    विव्यस गठनकोलागि समितिको म्याद सकिए पश्चात  ५ वटा वैठक बसिसकेको छ । विद्यालयबाट नयाँ समिति गठनको लागि प्रक्रियाहरु अगाडी बढाइएको तर निष्कर्षमा पुग्न नसकेको विद्यालयका प्रधानाध्यापक बेगम कवँरले बताए ।

    उनका अनुसार विव्यसको म्याद सकिए पश्चात गत चैत २६ गते अभिभावक भेला गरी नामावली प्रकाशन समेत गरिएको थियो । शैक्षिक सत्र २०८० मा गठन हुन नसक्दा त्यसपश्चात शैक्षिक सत्र २०८१ मा पनि अभिभावकहरुको नामावली जेठ २८ प्रकाशन गरिएको छ । तर हालसम्म पनि विव्यस गठनकालागि बसेको वैठक निष्कर्षमा पुग्न सकेको छैन् उनले भने ।  


    विद्यालयमा नयाँ समिति गठन नहुँदा विद्यालयमा रिक्त रहेको माध्यामिक तह गणित शिक्षकको पदपुर्ती समेत हुन् सकेको छैन् । विद्यालयमा चैत यता माध्यामिक तहमा गणित शिक्षक विहिन भएको प्रधानाध्यापक कवँरले जानकारी दिए । विद्यालयमा नयाँ विव्यस गठन नहुँदा शिक्षक आवश्यकताको विज्ञापन खोलि नयाँ शिक्षक राख्न सकिएको छैन उनले भने । यसले गर्दा विद्यालयमा गणित विषयको पठनपाठनमा प्रभाव परेको उनले बताए ।

    received_1150366749370356.jpeg


    निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम चन्द्र पुनले आफुहरु सहमतिको पक्षमा रहेको बताए । उनले हालसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नुमा गाउँपालिका बाधक बनेको बताए । उनले सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले आफ्नो छोरीलाई विद्यालयमा रिक्त रहेको माध्यामिक तह गणित शिक्षकको रुपमा जागिर मिलाउने मनोसायले हस्तक्षप गरिरहेको आरोप लगाए ।

    आफु निकट व्यक्ति समितिको अध्यक्ष भएमा छोरीलाई जागिर खुवाउन सहज हुने भएकाले गाउँपालिका अध्यक्ष त्यस्तो मनोसायमा रहेको उनको आरोप छ । विव्यस गठनकोलागि नेकपा माऒवादी वाधक बनिरहेको उनले बताए । लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन भएकाले अब निर्वाचन प्रक्रियाबाटै विव्यस गठन गरिनुपर्ने उनको धारणा रहेको छ । 


    उता सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले विव्यस गठन छिटो गर्न विद्यालयलाई परिपत्र गरेको बताए । विव्यस गठनको जिम्मेवारी अभिभावकको रहेकोले गाउँपालिका यस विषयमा बाधक नबनेको उनको भनाई छ । विव्यसमा सबैको प्रतिनिधित्व रहने गरी गठन गर्न सुझाब दिएको उनले बताए । लामो समयसम्म पनि विव्यस गठन हुन नसक्दा स्थानीयसँग पालिकामा छलफल गरी चाडो गर्न परिपत्र गरिएको बताए । 


    सबैको सहमति अनुसार विव्यस गठनको प्रयास गरिरहेको कार्यवाहक वडाध्यक्ष पूर्ण सुनारले बताए । सबै दलको प्रतिनिधित्व हुने गरी विव्यस गठन गरिनुपर्ने उनले बताए। विव्यस गठनमा अभिभावक भन्दा बाहिरका व्यक्तिहरु पनि हाबी हुदाँ यस खालको समस्या भएको उनले बताए ।


    विद्यालयले भदौ ७ गते गाउँपालिकाको शिक्षा शाखालाई चौथो पटक अभिभावक तथा सरोकारवालाहरुको उपस्थितिमा भेला वसी गठन प्रयास गरिएको र सहमतिको कुनै प्रस्ताव पेश नभएकोले पुनर्गठन प्रक्रियाको वैकल्पिक मार्ग सहित आवश्यक सहजिकरण गरिदिन भन्दै पत्र लेखेको थियो । त्यसपश्चात गाउँपालिकाले भदौ ९ गते विद्यालयलाई शिक्षा ऐन २०२८ को दफा १२ र शिक्षा नियमावली २०५९ को नियम २३,२४ को व्यवस्थालाई अवलम्बन गर्ने गरी तत्काल आवश्यक प्रक्रिया बढाउने निर्देशन गरेको छ ।

     

    राजनीतिक हस्तक्षेप 


    विद्यलयमा विव्यसको म्याद सकिएको लामो समय हुँदासम्म नयाँ समिति चयन नहुनुमा विद्यालयमा राजनीति हाबी भएको स्थानीयले बताएका छन् । विव्यस गठनकालागि विभिन्न राजनैतिक दलले उम्मेदवार खडा गर्दा र ती सबै उम्मेदवारले आफ्नो अडान कायमै राख्दा यस्तो अवस्था बनेको स्थानीयको भनाई छ । विव्यसको अध्यक्षकालागि नेकपा माऒवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगाएतका दलले आफ्नो-आफ्नो अडान कायमै राखेका छन् । 


    सुरुमै विव्यस अध्यक्षकोलागि दाबेदार गर्नु कानुन विपरित रहेको शिक्षा शाखा प्रमुख यादव केसीले बताए । सुरुमा विव्यसको रुपमा कम्तिमा २ महिला सहित ४ जना गठन हुनुपर्ने हो । तर पहिलेदेखि नै विव्यस अध्यक्षकालागि दाबेदार हुदाँ पनि यस्तो भएको हुन सक्ने उनले बताए । विव्यस गठनको अधिकार अभिभावकलाई हुने भएकाले अभिभावक नै समिति गठनको जिम्मेवारी भएको उनले बताए । 


    विद्यालय शिक्षामा दलीय राजनीतिक रंग लागेपछि सामुदायिक विद्यालयले गुणस्तर गुमाउँदै गएको आरोप खेपिरहेको बेला विद्यालय व्यवस्थापन समितिको गठनमा समेत राजनीतिक खेमा देखापर्नु सामुदायिक विद्यालय शिक्षाकालागि दुर्भाग्य हो । सरकारले विद्यालयमा सक्रिय रूपमा राजनीतिक गतिविधि गर्न नपाउने भनिरहेको बेला सामुदायिक विद्यालयमा विव्यस गठनमा यस्तो देखिनुले शिक्षाको गुणस्तर थप खस्कदै जाने एक अभिभावकले बताए । विद्यालयमा शिक्षकको पदपुर्ती नहुदा यहाँका विद्यार्थीहरु नीजि विद्यालयमा जान थालेको उनले बताए ।


    भरत विश्वकर्मा
    लेखकबाट थप