काठमाडौं, ९ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबसँग ब्रिगेड ब्वाइज क्लब पराजित भएको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबसँग ब्रिगेड ब्वाइज क्लब तीन दुई गोल अन्तरले पराजित भएको हो । यो हारसँगै ब्रिगेड रेलिगेसनमा परेको छ ।
ब्रिगेड रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
आजको खेलमा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे ।
ब्रिगेडका बर्टराण्ड इबोडे आट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुशीलले खेलको १३ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर खेलको १६ औं मिनेटमै बर्टराण्डले गोल गर्दै ब्रिगेडलाई एक एक गोलको स्थितिमा ल्याए ।
खेलको १८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई दुई एक गोलको अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई दुई दुई गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई तीन दुई गोलको जित दिलाए ।
सातदोबाटोसँगको हारसँगै ब्रिगेड १२ खेलमा सात अंक जोडेर अंक तालिकाको पुच्छरबाट दोस्रो स्थानमा रहेको छ ।
सातदोबाटो भने यो जितसँगै १२ खेलमा १८ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ ।
