रोल्पा,१२ भदौ । रोल्पा नगरपालिका ८ जङ्कोट गाउँमा बाँदरले बारीमा लगाएको बालीमा क्षति पुर्याएको छ । बाँदरको आतंङ्कले वर्षेनी बारीमा लगाइएको मकै, भटमास, सिमी लगायतका बाली नोक्सान गरिरहेको छ।
उक्त गाउँमा विगत ५ वर्षयता बाँदरको आतङ्कले गर्दा बालीमा क्षति पुराएको स्थानीय बताउँछन् । जङ्कोटका दमाकुर टोलका स्थानीय बासीहरू बाँदरले मकै बाली नष्ट गर्न थालेपछि चिन्तित छन् । महिनौ मेहनत गरेर लगाएको खेती बालि भित्र्याउने समयमा बाँदरले सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।
मकै बाली भित्र्याउने समयमा बाँदरले मकै बालीमा क्षति पुर्याएको स्थानीय कुम बहादुर वलीले बताउँनुभयो। बस्ती नजिकै रहेको वनबाट आउने बाँदरका बथानले थुप्रै बालीमा क्षति पुर्याउने गरेको छ, उहाँले भन्नुभयो । यस क्षेत्रमा बाँदरले नखाने बाली भनेको कोदो, फापर, भाङ्गो जस्ता बाली नै प्रसस्त उत्पादन नहुँदा परम्परागत रुपमा गरिदै आएको मकै बाली लगाउन परेको उहाँले दुखेसो पोख्नुभयो। उहाँका अनुसार बाँदर, बिहान दिउँसो र साँझको समयमा बेलाबेलामा बारीमा आएर सताइरहेको छ । करिब २०(२५ बाँदरहरुको हुल बारीमा पस्दा बालीमा क्षति पुर्याएको उहाँले बताउँनुभयो ।
बाँदरको क्षतिबाट बाली जोगाउनु स्थानीय दिनभर बाँदर धपाउन बारिमै बस्नुपरेको स्थानीयले बताएका छन । बस्ती नजिकै वन रहेकाले बाँदर जुनसुकै समयमा पनि बारीमा आउने र मकै बालीमा क्षति पुर्याउने भएकाले यतिबेला त्यहाँका स्थानीय बादर धपाउदै बस्नुपर्ने बाध्यतामा रहेका छन् । जङ्कोटको दमाकुर टोलमा करिब २० घरपरिवारको बसोवास छ । उक्त घरपरिवार बादरको पत्यक्ष मारमा परेका छन् ।
वर्षेनी अन्नबाली बादरले नष्ट गर्दा गाउँबाट निकै टाढा बजारबाट चर्को मूल्यमा खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता रहेको अर्का कृषक रण बहादुर वलीले बताउनुभयो । ६ महिनालाई खान पुग्ने मकै बादरले नष्ट गरिदिएपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले पिरोलेको उहाँले दुखेसो व्यक्त गर्नुभयो । बाँदरको नियन्त्रणका लागि उपयुक्त प्रविधिको व्यवस्थापन गरिदिन सरकारसँग उहाँले माग गर्नुभयो ।
बाँदरले मकैसँगै यस क्षेत्रमा लगाएको वेमौषमी तरकारि पनि खाइदिने गरेको छ । स्थानीयहरुका अनुसार अहिले उक्त क्षेत्रमा बादरको संख्या वृद्धि भएको छ । वन जंगलमा बाँदरका लागि प्रयाप्त मात्रामा आहारा उपलब्ध हुन छाडेपछि विस्तारै बादरहरु मानिसले लगाएको बारिमा पस्न थालेको स्थानीय बताउँछन् । बाँदरलाई पहिले बन्दुकले मार्ने गरेपनि अहिले मार्न नपाइने भएपछी बाँदरको संख्या बढेको स्थानीयले बताए ।
बाँदर नियन्त्रणकालागि तत्कालै केहि गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष हर्क बहादुर डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो बादर नियन्त्रणको विषयमा तत्कालै केहि गर्न सक्ने अवस्था छैन्, बादरलाई बारिमा प्रवेश गर्न नदिने उपायहरू अपनाउन सकियो भने तत्कालको लागि राम्रो होला। उहाँले यस विषयमा माथिल्लो निकायसँग छलफल गरेर नियन्त्रणका लागि पहल गर्ने बताउँनुभयो । वडाध्यक्ष डाँगीले किसानलाई सम्भव भएसम्म बादरले क्षति नपुर्याउने बाली लगाउन आग्रह गर्नुभयो ।
भरत विश्वकर्मा
