दाङ, १० फागुन। घोराही उपमहानगरपालिकाको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने बहस लामो समयदेखि चलिरहेकै छ। उक्त स्थानलाई कसरी पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने भन्ने अनेकन उपायहरु पनि निकालिन्छन्। यसैक्रममा तत्कालीन शंकर पोख्रेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले उक्त स्थानमा ‘नाच घर’ निर्माण गर्ने योजना बनायो। जसलाई सांस्कृतिक डबली नाम दिइयो।
आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भयो। यो मध्ये ४४ लाख ४७ हजार रुपैयाँ खर्च भयो। डबली निर्माणको जिम्मा पाएको वन कार्यालयकाअनुसार त्यो बेला कोरोनाको महामारीका कारण काम हुन सकेन, फलतः पुरै रकम खर्च हुन सकेन । अर्को (गत) वर्ष पुनः नाचघर निर्माणकै लागि थप एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भयो। वन कार्यालयले लगाएको ठेक्का मार्फत गत वर्ष नाचघर निर्माणका लागि ६२ लाख रुपैयाँ खर्च भयो। यसरी कुल एक करोड छ लाख ४७ हजार रुपैयाँ लागतमा उक्त नाच घर बन्यो। वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसी भन्छन् ‘पहिलो वर्ष ४४ लाख ४७ हजार र अर्को वर्ष ६२ लाख रकम नाचघर निर्माणमा खर्च भएको छ।’ तर एक करोड बढीको लागतमा बनेको नाच घर कच्चो बन्यो, भताभुंग बन्दैछ।
हेरौँ भिडियो ।
त्यसो त, निर्माण भएको नाच घर हेर्दा उक्त लागत निकै अस्वाभाविक देखिन्छ। सांस्कृतिक नाच घर नजिकै बसोबास गर्दै आएका टेकबहादुर पुनले आइतबार तेस्रो आँखासँग भन्दै थिए ‘यो नाच घर भन्दा त पानीको व्यवस्था गरिदिएको भए हुने नि, नाच घरको हालत हेर्नुस् त, की त राम्रो बनाउनु पर्ने।’
भिरालो जमिन। एक्सकाभेटर प्रयोग गरेर सम्याइएको छ। पश्चिमतर्फको खाल्डोदेखि सम्याइएको जमिनको सतह बराबर गर्नका लागि वाल उठाइएको छ। घर भर्खरै निर्माण सम्पन्न भएको थियो। गएको वर्खाको झरीलाई नाचघरको वालले थेग्नै सकेन। नाचघरको एकातर्फको वाल भत्कियो। ‘माटो सम्याए मात्रै, माटोलाई बलियोसँग दाब्नु पर्ने, दाबिएन,’ स्थानीय भन्छन् ‘अनि बर्खाको झरीले वाल स्वाट्टै भत्काइदियो ।’ निर्माण कम्पनीले पुनः वालको मर्मत गर्यो।
वाल उठाउने क्रममा दुईवटा कोठा निर्माण गरिएका छन्। दुई कोठा नाच्ने कलाकारहरुको ‘ड्रेस चेन्ज’ का लागि बनाइएका ‘ड्रेसिङ रुम’ हुन्। त्यही वालमाथि नाच्नका लागि स्टेज निर्माण गरिएको छ। स्टेजको ओत टिनको छानो छ। बनिसकेको भनिएको नाच घरको छानो अहिले उस्तै बेहाल अवस्थामा छ। हावाले छानोकोभित्री भागमा प्रयोग गरिएका वस्तुहरु छिन्नभिन्न छन्। गत माघमा चलेको बेजोडको हावाले छानो लथालिंग बनाइदिएको छ । छानोकोभित्री भागमा प्रयोग गरिएका ‘पाता’ हरु भुइमै यत्रतत्र झरेका छन्। अनि त्यही छानो थाम्नका लागि नाचघरमा टेको लगाइएका छन्। ‘माघमा ठूलो हावा चल्यो हावाले छानाकोभित्र पट्टि रहेका पाताहरु सबै फालिदियो,’ स्थानीय टेकबहादुर पुनले भने ‘जाबो हावा पनि थेग्न नसक्ने सामान हालेर के गरिएको होला ? यस्तो बिजोग छ भनेर समाचारमा फुकाईदिनु पर्यो ।’
नाच घर अगाडी भत्कीएको ‘दर्शक दिर्घा’ ले पनि एक करोड बढीको अस्वाभाविक लागतलाई उदांगो बनाइदिएको छ। स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घा छ। दर्शक बस्नका बनाइएको पेटी भत्कीसकेका छन्। दर्शक बस्नका लागि जिल्ला बाहिरबाट ढुंगाहरु खरिद गरेर ल्याइए। बाहिरबाट ढुंगा खरिद गरेर ल्याइएका कारण नाचघर निर्माणमा लागत बढी हुन पुगेको दाबी निर्माण पक्षको छ। ‘दर्शक बस्ने पेटीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्यूठानबाट ल्याईएका हुन्,’ घर निर्माणको निगरानी गरेको वन कार्यालयले भनेको थियो ‘ढुंगा खरिद अनि ढुवानीमा पनि महंगो पर्न गयो ।’ दर्शक बस्नका लागि पेटी निर्माण गरिएको थलोमा ओत छैन। घाम वा पानी दर्शकहरुले कसरी छिचोल्ने ? नाच घर देखि पूर्व तिरको भिरालो जमिन बर्खायाममा उत्तिकै बाधक बन्ने देखिन्छ। बर्खायाममा पानी परेको अवस्थामा उक्त नाच घर सम्मै भेल बग्ने देखिन्छ। भिरालो जमिन सम्याउन, पश्चिमतर्फबाट वाल उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो खर्च लागेको निर्माणपक्षको दाबी छ। यसैगरि स्टेजमा प्रयोग गरिएका ‘प्यूठानी’ ढुंगा अधिक महंगो रहेको दाबी गरिएको छ।
निर्माण पक्षकाअनुसार यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौंबाट ल्याइएको थियो। यसैगरि उक्त स्थानमा पानीको व्यवस्था छैन। निर्माणका लागि चाहिने पानी घोराहीबाटै ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको वनको भनाइ छ। नाच घर निर्माणका लागि एक करोड बढी रकम खर्च भैसक्यो, तर यो घर अधकचल्टो छ। नत यो घरको निर्माणले पूर्णता पाउने सम्भावना नै देखिन्छ। त्यो बेला प्रदेश सरकारको पर्यटकीय योजना निर्माणको जिम्मा वन कार्यालयको थियो। अहिले वनबाट त्यो जिम्मेवारी खोसिएको छ। यसर्थ अहिले उक्त नाचघरकाबारेमा वनलाई कुनै जानकारी नै नभएको वताउँछ। ‘अहिले पर्यटकीय योजनाहरुको निगरानीको जिम्मा हाम्रो हैन,’ वनका सूचना अधिकारी केसीले भने ‘हामीले अहिले के भैरहेको छ भनेर एकिन जानकारी छैन।’
प्रदेशका पर्यटनसँग सम्बन्धीत योजना सञ्चालनका लागि बाँकेको नेपालगञ्जमा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ। यही कार्यालयले यस्ता योजना सञ्चालन गर्छ। तर यो कार्यालयको योजना सुचीमा घोरदौराको नाचघर छैन। कार्यालयका प्रमुख माधव ज्ञवालीले उक्त नाच घर बारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘त्यो काम वनले ठेक्का मार्फत लगाएको हो,’ उनले भने ‘हाम्रो योजना भित्र त्यो नाचघर परेको छैन, यसर्थ त्यो आयोजनाबारे मैले केही भन्न सकिन ।’ कार्यालयको योजना सुचीमा उक्त नाचघर नपरेका कारण आफूहरुले उक्त आयोजनाप्रति ध्यान नै नदिएको उनले बताए। ‘हामीहरुको योजना सुचीमा नै नपरेको योजनालाई हामीले हेर्ने कुरै हुँदैन नि,’ ज्ञवालीले भने ‘यो वर्ष १० लाख रुपैयाँ विनियोजन भएको र उक्त रकम लिन नमानेको भन्ने सुनेको चाहीँ हो, तर हामीसँग कुनै समन्वय भने भएको हैन।’
‘नाच घर’ का नाममा करोडको नास
वन कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले जिल्लामा सांस्कृति नाच घर निर्माण गर्ने योजना बनायो। जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवर्धनका लागि नाच घर बनाउने लक्ष प्रदेश सरकारको थियो। अनि प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले ठाउँ चयन गरे — घोरदौरा। मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार क्षेत्र पनि पुरै देख्न मिल्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चयन गरेका थिए। तर घोराहीदेखि उत्तर पूर्वमा रहेको घोरदौरा सम्म पुग्नका लागि कच्चि धुलाम्य सडक छ ।
घोराहीमा भएको कार्यक्रमका सहभागीहरुलाई नाच देखाउनका लागि मात्रै छ किलोमिटर पहाड धुले सडक हुँदै उक्लनु पर्ने हुन्छ। भौगोलिक बिकटतासँगै नाच घर निर्माण गरिएको थलोमा पिउने पानी सम्मको ब्यवस्था छैन। नत पक्की सडकनै। यि अत्यावश्यक पूर्वाधारको ख्यालै नगरि घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्य सर्वसाधारणहरुले देख्दैनन्। तर यो योजनाको डिपिआरमा भने पक्की सडक र पिउने पानीको व्यवस्थापन पनि समेटिएको भने छ। तर यो काम कुनै निकायमार्फत हुने भन्ने अन्यौलताले करोड भन्दा बढीको लगानीमा बनेको नाच घर जिर्ण बन्दै जाने सम्भावना छ।
